महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रमसहित स्मरण गरिँदै

काठमाडौं : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्ती आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
वि.सं. १९६६ कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा जन्मनुभएका देवकोटा नेपाली साहित्यका एक युगप्रवर्तक स्रष्टा हुन्।
दश वर्षको कलिलो उमेरदेखि नै कविता लेखन शुरू गरेका देवकोटाले नेपाली साहित्य भण्डारमा महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास र गीति कवितासहित एक सयभन्दा बढी कृतिहरू समर्पण गरे।
उनीद्वारा रचित ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा हालसम्मकै सर्वाधिक बिक्री भएको कृति मानिन्छ। स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनाहरूमा मानवतावाद, प्रकृतिप्रेम र पूर्वीय तथा पाश्चात्य दर्शनको अद्वितीय संयोजन पाइन्छ।
देवकोटाको असाधारण प्रतिभाका कारण भारतीय महापण्डित राहुल साङ्कृत्यायनले उनलाई भारतका महाकविहरू सुमित्रानन्दन पन्त, जयशङ्कर प्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूप भनी प्रशंसा गरेका थिए।
नाट्यसम्राट बालकृष्ण समले देवकोटालाई ‘मुनामदन’, ‘शाकुन्तल’ र ‘पागल’ कवितामार्फत तीन पटक जन्मेको स्रष्टाको रूपमा व्याख्या गरेका छन्। तीन महिनामा ‘शाकुन्तल’, दश दिनमा ‘सुलोचना’ र एकै दिनमा ‘कुञ्जिनी’ जस्ता कृति लेख्नसक्ने उनको क्षमता अद्वितीय मानिन्छ।
साहित्य सिर्जनामा मात्र नभई देवकोटाले नेपाली साहित्यलाई विश्वमाझ चिनाउन पनि महत्त्वपूर्ण भूमिका खेले। उनले आफ्नै ‘पागल’ कवितालाई अङ्ग्रेजीमा अनुवाद गर्नुका साथै विभिन्न विदेशी सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गरे।
वि.सं. २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा उनले नेपालभर नेपाली भाषालाई अनिवार्य गराउनुभयो भने वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा पनि उहाँको अविस्मरणीय योगदान रहेको छ।
चरम आर्थिक अभाव र पारिवारिक दुःखका बीच पनि साहित्य साधनामा निरन्तर लागिरहनु देवकोटाको जीवनको अर्को प्रेरणादायी पक्ष हो। उनको योगदानले नेपाली साहित्यलाई आज पनि मार्गदर्शन गरिरहेको छ।
कात्तिक ३, २०८२ सोमबार ०८:५९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।