हङकङमा कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

एजेन्सी : हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ।
दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने विमानमा सवार चालक दलका चार सदस्यको सकुशल उद्धार गरिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, मृत्यु हुने दुवै जना विमानस्थलका ग्राउन्ड स्टाफ थिए।
विमानले उनीहरू सवार गाडीलाई ठक्कर दिएपछि गाडी समुद्रमा खसेको थियो, जसका कारण उनीहरूको मृत्यु भयो। विमान पनि चिप्लिएर समुद्रमा खसेको थियो।
विमानमा सवार चालक दलका चारै सदस्य भने जीवित छन् र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। यो दुर्घटना स्थानीय समयअनुसार सोमबार बिहान ३:४० बजे भएको हो।
इमिरेट्सको फ्लाइट नम्बर ईके९७८८ को उक्त विमान दुबईबाट हङकङ आइपुगेको थियो। यो टर्कीको कार्गो एयरलाइन ‘एयर एसीटी’ द्वारा सञ्चालित बोइङ ७४७-४८१ विमान हो।
यस घटनाबारे थप जानकारी दिन विमानस्थल प्राधिकरणले स्थानीय समयअनुसार आज बिहान १०:०० बजे पत्रकार सम्मेलन गर्ने जनाएको छ।
कात्तिक ३, २०८२ सोमबार ०८:२५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।