रोकिराखेको ग्यास बुलेटमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

चितवन : चितवनको खैरहनीमा रोकिराखेको ग्यास बुलेटमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
आइतबार राति खैरहनी नगरपालिका-२ स्थित लदरी खोलाको पुलमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक स्थानीय मनिष बोगटीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, पुलमा रोकिराखेको एचआर ३८ एएफ ६१२६ नम्बरको भारतीय ग्यास बुलेटमा बागमती प्रदेश ०३-००२ प ३२३० नम्बरको मोटरसाइकल ठोक्किएको थियो।
कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका बोगटीको टाउकोमा गहिरो चोट लागेको थियो।
उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीले ग्यास बुलेटका चालक, भारतको बिहार राज्य सिवान जिल्लाका ५९ वर्षीय दशरथ प्रसादलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय, खैरहनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक ३, २०८२ सोमबार ०८:१९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।