पोखरामा खुकुरी देखाएर जर्मन नागरिकलाई दुर्व्यवहार गरेको आरोपमा दुई युवक पक्राउ

पोखरा : पोखरामा एक विदेशी पर्यटकलाई खुकुरी देखाएर अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पोखरा-२२ स्थित अनदुको जङ्गलमा एक्लै हिँडिरहेका ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टिनलाई धम्क्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले आइतबार भएको घटनाको सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय, बैदामबाट खटिएको टोलीले उनीहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिएको जानकारी दिए।
पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन विक र तनहुँको व्यास नगरपालिका-५ का २१ वर्षीय विशाल दर्लामी रहेका छन्।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय, कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत ‘अभद्र व्यवहार’ मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी बस्नेतले बताए।
कात्तिक ३, २०८२ सोमबार ०७:३७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।