आज तिहारको तेस्रो दिन : बिहान कुकुर पूजा, साँझ धनकी देवी लक्ष्मीको आराधना गरिँदै

आज तिहारको तेस्रो दिन : बिहान कुकुर पूजा, साँझ धनकी देवी लक्ष्मीको आराधना गरिँदै

काठमाडौं : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज, नेपाली हिन्दू धर्मावलम्बीहरूले बिहान कुकुरको पूजाआजा गरी ‘कुकुर तिहार’ र साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरी ‘लक्ष्मीपूजा’ मनाउँदैछन्। तिथिको घटबढका कारण यस वर्ष नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको हो।

आज बिहानै घरघरमा मानवजातिको एक बफादार साथी मानिने कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खुवाएर कुकुर तिहार मनाइएको छ।

धार्मिक विश्वासअनुसार, कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गर्दा यमराजको ढोकामा द्वारपालका रूपमा रहने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले प्रसन्न भई यमलोक जाँदा बाटो छाडिदिने विश्वास गरिन्छ। सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत कुकुरले साथ दिएको प्रसंग महाभारतमा वर्णित छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, सूर्योदय कालमा चतुर्दशी तिथि परेको दिन कुकुर तिहार र नरक चतुर्दशी मनाउनुपर्ने शास्त्रीय विधानअनुसार आजै यी पर्व मनाइएको हो।

यसैगरी, आज बिहान अरुणोदयकालमा नदी, तलाउ वा तीर्थमा स्नान गरी यमराजको नाममा दीपदान गर्नाले मृत्युपछि नरकको कष्ट भोग्नु नपर्ने विश्वासका साथ ‘नरक चतुर्दशी’ पनि मनाइएको छ। यसरी बत्ती बालेर बगाउने विधिलाई ‘नरके बगाउने’ भनिन्छ।

साँझ लक्ष्मीपूजा र भैलोको रौनक
आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ। लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्री’ पनि भनिन्छ।

‘सफासुग्घर नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन्’ भन्ने मान्यताअनुसार बिहानैदेखि घरआँगन सरसफाइ र लिपपोत गरी साँझमा दीपावली गरेर लक्ष्मीलाई स्वागत गर्ने तयारी गरिन्छ।

साँझमा आँगनदेखि पूजाकोठासम्म गाईको गोबर र रातोमाटोले लिपेर चामलको पिठो र अबिरले लक्ष्मीको पैतालाको आकृति बनाई त्यसैमाथि दियो बालेर लक्ष्मीलाई भित्र्याइन्छ। पूजाकोठामा दियो, कलश र गणेशसहित लक्ष्मीको स्थापना गरी गरगहना, पैसा, फलफूल र सेलरोटी जस्ता परिकार चढाएर विधिपूर्वक पूजा गरिन्छ।

लक्ष्मीपूजापछि मध्यरातमा घरका महिलाहरूले नाङ्लो ठटाउँदै ‘अलक्ष्मी भागोस्, लक्ष्मी र धनधान्यको बास होस्’ भनी कामना गर्ने परम्परा छ।

यसै अवसरमा आज साँझ युवतीहरू समूह बनाएर घरघरमा भैलो खेल्नेछन्। पौराणिक कथाअनुसार, भगवान् विष्णुबाट तीनै लोकको शासन गर्ने वरदान पाएका राजा बलिका लागि ‘भलो होस्’ भन्ने कामनाका साथ गाइने गीत नै कालान्तरमा ‘भैलो’ हुन आएको विश्वास गरिन्छ। भैलो खेल्न आउने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिएर बिदा गर्ने चलन छ।

लक्ष्मीपूजाको अवसरमा राजधानी काठमाडौँलगायत देशका प्रमुख शहरबजारहरूमा दीपावली गरी झिलिमिली बनाइएको छ, जसले तिहारको उल्लास र रौनकलाई थप बढाएको छ।

कात्तिक ३, २०८२ सोमबार ०७:२९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।