शिक्षक मुनाको प्रसव पीडा र खुसी: छोरीको बाल्यकाल चाँडै छुटेको सम्झँदा दुख लाग्छ

शिक्षक मुना शर्मासँग २३ वर्ष देखि अध्यापन गरेको अनुभव छ। यस बिचमा उनले स्कुलदेखि क्याम्पससम्म पढाएको अनुभव बटुलिन्। कुनै समय दिनमा १२ घण्टाभन्दा बढी समय पढाउन बिताउने उनी अहिले भने फुर्सदको समय आफ्नो आमा र छोरीका साथ बिताउने गर्छिन्।
दशक भन्दा बढी समयदेखि उनी लिटल एन्जल्स(एलए) कलेजमा ‘फुल टाइम’ शिक्षक हुन्। सबै साथीहरू वैदेशिक रोजगारीमा जाँदा आफू भने नेपालमै केही गर्नु पर्छ भनेर यहीँ बसेको बताउँछिन् उनी। तर कहिलेकाहीँ सोच्दा गलत गरेछु कि! भन्ने लाग्छ रे अहिले।
पाटनको नेवार ब्राह्मण परिवारमा जन्मिएकी उनी घरको जेठी सन्तान हुन्। बुवा विद्यालय निरीक्षक भएकाले बाहिरी जिल्लातिर व्यस्त रहँदा घरमा आमापछि जिम्मेवार व्यक्ति उनी नै भइन्। त्यही भएर पनि उनको बाल्यकाल भाइबहिनी हेरेर बित्यो। यसले गर्दा उनी अलि छिट्टै जिम्मेवार र परिपक्व पनि भइन्।
ब्राह्मण भए पनि उनको बुवाले भने कर्मकाण्डको काम गरेनन्। परिवारमा सरकारी जागिर खाने पनि उनको बुबा नै पहिलो थिए। आइएससी सक्किए पछि नै उनले पढाउने काम पनि गरिन्। पछि स्नातक हुँदै स्नातकोत्तरसम्म आइपुग्दा उनी आफै पनि शिक्षण पेसामा जमिसकेकी थिइन्।
उनी एक सन्तान कि आमा पनि हुन्। उनै मुनाले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी साटिन् :
OOO
हामी छ जना सन्तान, चारजना दिदीबहिनी पछि दुईजना भाइहरू। घरमा धेरैजना भएको कारणले पनि मलाई किन हो सानै देखि ड्याडीलाई आर्थिक रूपमा सहयोग गर्नु पर्छ भन्ने लाग्थ्यो। त्यही भएर मैले त स्नातकपछि नपढ्ने, काममै फोकस गर्ने सोच बनाएँ।
तर मेरो ड्याडीले त्यसो गर्न दिनु भएन। जसरी हुन्छ डिग्री पनि पढ्नु पर्छ भन्नुभयो। मैले अर्ग्यानिक केमेस्ट्रीमा डिग्री गरेको छु। स्कुल सके पछि भने पढाउने काम गरेको हुँ। तर पार्टटाइममै व्यस्त हुन्थेँ। ०६२/०६३ सालमा एलए जोइन गरेपछि अर्कोमा काम खोज्नु परेन।
मैले मेरो जीवनमा धेरै व्यक्तिहरू देखेँ तर ड्याडी जत्तिको जिम्मेवार देखेकै छैन। सबै केटा मान्छे ड्याडी जस्तै हुन्छन् जस्तो लाग्थ्यो। तर त्यस्तो होइन रहेछ। हामी सबैमाथि उहाँको धेरै जिम्मेवारी थियो। तर उहाँले कुनै पनि गुनासो नगरी सबैलाई राम्रो शिक्षा, संस्कार दिनुभयो।
०५९ सालमा मेरो बिहे भयो। मागी बिहे नै भएको हो। तर स्नातक पढ्दै गर्दा बिहेको कुरा आएकाले केही हदसम्म श्रीमानलाई चिन्ने मौका पनि पाएँ।
श्रीमान् बाहेक उहाँको पारिवारिक पृष्ठभूमिबारे भने म अनजान थिएँ। त्यसबेला सोधखोज पनि गरिएन। अहिलेको नयाँ पुस्तालाई भनिरहन त नपर्ला तर बिहे गर्ने कुरा हुँदा परिवारलाई पनि अगाडि नै बुझ्न पर्ने रहेछ।
परिवार राम्रोसँग नबुझ्दा बिहे पछिको मेरो जीवन निकै गाह्रो भयो। बिहेको केही समय पछि नै हाम्रो सन्तान पनि भयो। मेरो छोरी मेरो लागि निकै लक्की हो। छोरी भएपछि नै मेरो जीवन धेरै राम्रो भएको जस्तो लाग्छ।
जेठमा मेरो बिहे भएको केही समयमै मेरो गर्भ रहेछ। मलाई सुरुमा अप्ठ्यारो पनि लागेको थियो। मैले त त्यसबेला ‘अलर्ट’ पनि गर्न चाहेको थिएँ। अप्ठ्यारो भएर वा नचाएर भन्दा पनि बिहेको पहिलो महिनामै गर्भ रह्यो। म आफै पनि तयार थिइनँ। अनि अरूले के भन्ला भन्ने पनि लागेको थियो। त्यही भएर श्रीमानको माइजूसँग यसबारेमा कुरा गर्न गयौँ। उहाँ पाटन हस्पिटलको सिनियर नर्स हुनुहुन्थ्यो।
उहाँले ‘उमेर पनि ठिक छ, अहिले कुनै औषधी गरेर अलर्ट गर्दा पछि फेरि सन्तान नहुने जोखिम होला’ भनेर सम्झाउनु भएपछि हामीले राख्ने निर्णय गर्यौँ।
गर्भवती भएको पहिलो तीन महिना मलाई निकै गाह्रो भएको थियो। जेठ महिना आँपको सिजन। आँप बाहेक अरू केही पनि खान मन नलाग्ने र खान नसक्ने भएको थिएँ।
त्यसबेला भक्तपुरमा पढाउन जान्थेँ। भक्तपुरको बसमा जाँदा मलाई बान्ता आएर निकै गाह्रो हुन्थ्यो। त्यही पनि बसबाट ओर्लिएर मात्र म बान्ता गर्थेँ। त्यसबेला आफैलाई पनि केही थाहा थिएन। मेरो घरमा मलाई लिएर राम्रो वातावरण बन्नै सकेन।
श्रीमानबाट पनि त्यसबेला आफूले खोजेको जस्तो साथ पाउन गाह्रो थियो। जँचाउन म मेरो भाइसँग हस्पिटल जान्थेँ। त्यसबेला त्यत्तिकै पनि एकदम मुड स्विङ हुने समय, मेरो मानसिक अवस्था पनि कमजोर भएको थियो। पछि समय बित्दै जाँदा स्वास्थ्यमा सुधार हुँदै गयो।
तर गर्भवती भएको ठ्याक्कै सात महिना पुरा हुँदै गर्दा मलाई धेरै गाह्रो भयो। त्यसबेला म ममीकोमा आएर बसिरहेको थिएँ। मलाई निकै दुखाइ भएपछि मेरो भाइ र बहिनिले हस्पिटल लानु भयो। ममीले मलाई गाह्रो भयो, हस्पिटल लग्यौँ भनेर घरमा पनि खबर गर्नु भएको रहेछ।
हस्पिटलमा ठाउँ पनि थिएन। स्ट्रेचरमा सुताएर मलाई बाहिरै राखेको थियो। त्यसबेला मेरो ममी मेरो हालत देखेर निकै रुनु भएको थियो। माइजूले हस्पिटलमा फोन गर्नु भएपछि मात्र मलाई बेडमा राखिएको थियो।
ड्याडी त्यसबेला सिन्धुपाल्चोकतिर हुनुहुन्थ्यो। नराम्रो लाग्यो भनेर घरमा फोन गर्दा मेरो अवस्थाबारे थाहा पाउनु भएपछि तुरुन्तै मलाई भेट्न आउनु भएको थियो। त्यै भएर पनि मेरो ममी र ड्याडीसँग अर्कै आत्मीयता छ।
त्यसबेला हस्पिटलमा डाक्टरले ‘प्रिम्याच्योर बेबी निकाल्ने’ भनेर अप्रेसनको तयारी गर्नु भएको थियो। तर पछि माइजू आएर मेरो युरिन टेस्ट गराउनु भयो। अनि इन्फेक्सन भएको थाहा भएपछि त्यसैको मात्र उपचार गराउनुभयो।
एक हप्ता म माइतीमै बसेँ। पुरै ठिक भएपछि मात्रै मात्र घर गएँ। नौ महिना लागेको तुरुन्तै भोलिपल्ट मेरो श्रीमानको जन्मदिन थियो। जन्मदिनमा हाम्रो घरमा रातोमाटोले लिप्नु पर्थ्यो। म लिपिरहेकै थिएँ। त्यत्तिकैमा मेरो रगत बग्न थाल्यो। सासूलाई सुनाएँ। उहाँले छिटोछिटो जन्मदिन गर्ने भन्नुभयो। जन्मदिन मनाएर, टिका लगाएर मात्र हामी हस्पिटल पुग्यौँ।
केही समय अघि मात्र हस्पिटलमा गएको कारण मलाई सबैले चिन्नु भएको रहेछ। उहाँहरूले ‘हस्पिटल आउन लडाइँमा आएको जस्तै टिका लगाएर आउनु भएको !’ भनेर जिस्काउनु भएको थियो।
तर घरहरू खुलेको छैन भनेर घर नै पठाउनु भएको थियो। अनि राति फेरि हस्पिटल गयौँ। मलाई रातभर राखियो। पछि बिस्तारै प्रसव व्यथा लाग्न थाल्यो।
‘लेबर रुम’ मा लागे पछि मलाई धेरै नै दुखाइ भयो। निकै गाह्रो हुने रहेछ। ढाड पनि एकदम नमज्जासँग दुख्ने रहेछ। मूर्ति पूजा नगरे पनि भगवानप्रति मेरो आस्था चैँ छ।
मेरो श्रीमान् फोटोग्राफर हो। उहाँहरूको बानेश्वरमा फोटो स्टुडियो थियो। त्यसबेला ‘विमलको श्रीमती यहाँ छ रे भनेर हेर्न आएको’ भन्दै उहाँको दुइजना साथी आउनु भएको थियो। हस्पिटलमा अरू कोही पनि हुनुहुन्थेन।
मलाई बेस्कन ढाड दुखेको बेला मैले ढाड मसाज गरिदिनु न भनेर आग्रह गरेँ। एकजनाले भाडा माझे जस्तो घ्वाइँघ्वाइँ मेरो ढाड मसाज गरिदिनु भयो।
मलाई निकै आनन्द भयो। तर डेलिभरी पछि चैँ घाउ जस्तै देखेको थियो। त्यसपछि मैले आजसम्म पनि उहाँहरूलाई भेटेको छैन। त्यसबेला मलाई उहाँहरू भगवानजस्तै नै लागेको थियो। उहाँहरू प्रति म एकदम कृतज्ञ छु।
केही समयपछि मैले प्राकृतिक रुपमानै छोरीलाई जन्म दिएँ। छोरीले जन्मिनु अगाडि नै दिसा गरेकोले ४८ घण्टा निगरानीमा राख्नु परेको थियो। त्यसबेला पनि म हस्पिटलमा एक्लै थिएँ। हस्पिटलको खर्च पनि सबै माइजूले बेहोरिदिनु भएको थियो।
मेरो छोरी अहिले जे जस्तो अवस्थामा छ सबै त्यही माइजूले गर्दा हो। उहाँले गर्दा नै आज मेरो छोरी मसँग छ। केही वर्ष अगाडी उहाँ बित्नु भयो। एकदम नराम्रो लाग्यो। हाम्रो संस्कारमा शवलाई खासै छुने चलन छैन। तर मैले ड्याडीलाई अन्तिम बिदाइ गर्दा खुट्टा ढोगेकी थिएँ। त्यही भएर माइजुलाई पनि बिदाइ गर्दा खुट्टा ढोगेर ग्वाँग्वाँ रुन आएको थियो।
सुत्केरी भएको २२ दिनमा ट्याक्सीमा राखेर माइती पठाइदिनु भएको थियो। माइतीमा खबर पनि गर्न पाएको थिइनँ। झोलातुम्ली र सानी नानी बोकेर ट्याक्सी बोलाइदिनु भएको थियो। पछि पो थाहा भयो मसँग त ट्याक्सी भाडा पनि थिएन।
अहिले सम्झिँदा निकै नराम्रो लाग्छ। त्यति सानो बच्चा त ‘कोल्याप्स’ हुन सक्थ्यो नि हैन र! घर पुगेपछि ट्याक्सीकै दाइले घरसम्म सामान पनि पुराइदिनू भयो। उहाँले चाहेको भए त मलाई सहयोग नगर्न पनि त सक्नु हुन्थ्यो नि। पछि ममीले भाडा दिनुभयो। त्यो ट्याक्सीको दाइ पनि मेरो लागि भगवान् सरह भयो।
त्यसपछि तीन महिना म माइतीमै बसेँ। घर फर्किएर गएपछि काम छोडेर नानीलाई हेर भन्ने कुरा पनि आएको थियो। तर मैले काम छोडिन। बरु कहिले ममीसँग छोड्ने, कहिले आफैले साथमा लिएर जान्थेँ। बिहान नानुलाई बोकेर माइती जाने अनि काममा जाने पनि गरेँ।
बिहान भ्याउँदिन भनेर धेरैपल्ट त मैले राती नै नानुलाई कपडा लगाएर तयार पार्थेँ। मेरो विद्यार्थीहरूले पनि धेरै सहयोग गरे मलाई। यस्तै यस्तै कारणले म आठ वर्ष माइतीमै बसेँ। म त श्रीमान् र परिवारसँग छुट्टिने निर्णयमा पनि पुगेको थिएँ। तर छोरीले बाबा खोज्न थालिन्। अनि घर फर्किएँ।
बिहान पढाउन जान्थे अनि दिनभर घरको काममा व्यस्त हुन पर्थ्यो। अब त छोरी पनि ठूली भइन्। धेरै कुरा बुझ्छे। आर्किटेकमा स्नातक गर्दै छे। म आफैले पनि पढाउने भएको कारण स्कुल र कलेजमा उसलाई पढाउन धेरै गाह्रो भएन।
अहिले यसो सोच्छु, मेरो ममी र छोरी नभएको भए म कहाँ हुन्थे होला! अहिले त छोरी नै मेरो साथी हो। मेरो जे जति छ सबै छोरीकै हो। म पनि छोरीकै हुँ। मैले उसलाई थप पढाइको लागि विदेश जान भनेको छु। तर उसले मलाई छोडेर जान चाहिरहेको छैन। मलाई उ राम्रो देशमा गएर शिक्षित भएको हेर्न मन छ।
आमा हुनु भनेको त्याग पनि रहेछ। उसको लागि त मैले मेरो आत्मसम्मानै त्यागे नि। कुनै पनि व्यक्तिको लागि आफ्नो आत्मसम्मान भन्दा ठुलो कुरा के नै होला र ! मेरो जीवन नै मेरो छोरीको लागि समर्पित छ। उ पनि उमेर भन्दा अगाडि नै परिपक्व भई। त्यसमा दुख लाग्छ। उसको बालापन छिट्टै छुट्यो।
कात्तिक २, २०८२ आइतबार २१:५९:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।