जेरी अन टप : सिनेमाटोग्राफी र भिएफएक्स टप, कथा फ्लप

अनमोल केसीले अभिनय गरेका फिल्ममा उनको अभिनयको स्तरसँग फिल्म ‘जेरी अन टप’मा देखिएको अभिनय दाँज्ने हो भने उनले निकै सुधार गरेको देखिन्छ।
हिमालसँग जोडिएको फिल्म र त्यसको छायाङ्कन लगायतको पक्ष हेर्ने हो भने पनि यो फिल्म निकै स्तरीय देखिन्छ। तर जब कथा अनि पटकथा अनि सहायक पात्रहरू हेर्ने हो भने फिल्म हेर्दाहेर्दै मनमा प्रश्न जन्मिहाल्छ ‘फिल्मका कलाकार चयन, अभिनय अनि सिनेमाटोग्राफीमा यति धेरै मिहिनेत गरिसकेपछि फिल्मको कथा अनि पटकथालाई कसिलो बनाउन किन यति धेरै कमजोरी गरेको होला?’
फिल्मका केही सहायक पात्रहरू किन राखेको होला भन्ने प्रश्नले पनि छाड्दैन हलमा दर्शकलाई। भावनात्मक दृश्यमा संवाद मात्रै हैन अभिनय गर्नेको फेसियल अनि बडीको एक्प्रेसनको पनि महत्त्व हुन्छ भन्ने निर्देशकले नबुझ्दा जेरी अन टप गुलियो फिल्म बन्न भने सकेन।
दुई धारको कथामा फिल्म बनाउँदा कहिलेकाहीँ फिल्म हेरेको हो कि डकुमेन्ट्री भन्नेमा पनि कन्फ्युजन हुनसक्छ। कतै कतै त कुर्सीबाटै उठेर हलबाटै हिँडिदिऊँ कि भन्नेसम्म बनाउन सक्छ।
कथासार
विजय प्रताप राणा (भुवन केसी)का एक्ला छोरा हुन् जेरी (अनमोल केसी)। बुबा व्यापारी। छोरा जेरी बुबालाई हरेक खेलमा हराउन चाहन्छन्। तर सबै बुबाले जित्ने।
आमाबाट बुबा सगरमाथा चढ्न जाँदा असफल भएर फर्किएको सुनेपछि सगरमाथा चढेर बुबालाई हराउन चाहन्छ।
जिद्दी स्वभाव तर अति अल्छी। घरमा भर्याङसम्म नचढ्ने जेरीको जिद्दीको अगाडि परिवारको केही जोर चल्दैन। परिवारले सगरमाथा चढ्न जान स्वीकृत दिन्छ।
मामा (केदार प्रसाद घिमिरे) ले सगरमाथा चढ्ने तालिम लिन जेरीलाई सघाउँछन्। जेरीको बाल्यकालदेखिकी प्रेमिका श्रेया (आँचल शर्मा)ले पनि साथ दिन्छिन्। गाइडको जिम्मेवारी पाउँछिन् पेमा शेर्पा (जसिता गुरुङ)ले पाउँछिन्।
नाम्चेबजार हुँदै,बेसक्याम्पसम्म पुगेका जेरी अन्तिममा सगरमाथा चढ्दैनन्, सगरमाथा चढेको नक्कली फोटो लिएर फर्कन्छन्। त्यसपछि के हुन्छ फिल्मको मुख्य विषय यही नै हो।
बलियो पक्ष
यो फिल्मको सबैभन्दा बलियो पक्ष सिनेमाटोग्राफी अनि मुख्य कलाकारहरूको अभिनय हो। मेगास्टार भनिए पनि अभिनयमा सधैँ आलोचित हुँदै आएका अनमोलले यसमा आफ्नो अभिनय सुधारेको प्रस्ट अनुभव हुन्छ। जसिताले पनि निकै राम्रो अभिनय गरेकी छिन् यसमा।
फिल्मको अर्को बलियो पक्ष हो ब्याकग्राउन्ड म्युजिक र प्रयोग गरिएको भिएफएक्स। नेपाली फिल्ममा भिएफएक्सको प्रयोग बढिरहेको छ तर यति सहज र प्रभावकारी रूपमा भिएफएक्स प्रयोग भएको कमै देखिन्छ। दर्शकको आँखा नबिझाउनेगरि यसमा भिएफएक्सको प्रयोग भएको छ।
पर्दामा कतै पनि दर्शकले यो दृश्य हिमालको हैन भन्ने अनुभव गर्न सक्दैनन्। हिमाल चढ्न जेरीले गरेको संघर्षमा दर्शकको मन मिल्न सक्छ। फिल्मको सांगीतिक पक्ष मध्यम छ।
फिल्मको अर्को बलियो पक्ष हो मेकअप। हिमाल चढ्ने आरोहीको अनुहारको रंग उचाइ अनुसार बदलिँदै जान्छ। हिउँले खाँदा छाला कालो हुँदै जान्छ। फिल्मका पनि हिमाल चढ्ने पात्रको अनुहारमा त्यो देखिन्छ। कलरिङमा पनि प्रशस्त मेहनत भएको देखिन्छ। यसले निर्देशनमा सुयोग गुरुङले गरेको मिहिनेत देखिन्छ। तर कमजोरीहीन भने छैन फिल्म।
कमजोरी
यो फिल्मलाई किन २ घण्टा ५४ मिनेटको बनाएको होला? ‘जेरी अन टप’को पहिलो कमजोरी नै यसको गति हो। जुन रफ्तारमा फिल्मको कथा अगाडि बढ्छ त्यसले दर्शकको मनमा न रोमाञ्चकता ल्याउँछ न कौतुहलता। प्रेम भावको निर्माण गर्न पनि निर्देशक चुकेका छन्। यी सबै कमजोरीको कारण कमजोर सम्पादनै हो।
फिल्मलाई त्रिकोणीय प्रेमकथाको कलेवर दिने प्रयास पनि भएको छ। बाबु अनि छोराबीचको सम्बन्धलाई पनि प्राथमिकता दिइएको छ। तर दुवै सम्बन्धलाई देखाउँदा भावनाको खडेरी छ।
पहिलो हाफमा जसरी फिल्मको कथा अगाडि बढ्छ त्यसले दर्शकलाई उकुसमुकुस गराउँछ। सम्पादनमार्फत फिल्मलाई कसिलो र चुस्त बनाउन सक्ने स्थान प्रशस्त हुँदाहुँदै पनि अनावश्यक दृश्य राख्नुको कारण खुल्दैन। यसले फिल्मलाई कमजोर बनाएको छ।
फिल्म हाफ हुनुअघि नाम्चे बजारमा कलाकारलाई घरीघरी प्रेममा पार्ने प्रयास गरेका निर्देशकले ती दृश्यबाट रोमाञ्चकता भन्दा दिक्दारी बढी पस्किएका छन्।
जब पहिलो हाफ सकिएर दोस्रो हाफ आउँछ पहिलो हाफमा के थियो रे भन्ने सम्झन नै आवश्यक पर्दैन। पहिलाको डकुमेन्ट्री रहेछ अनि दोस्रो चैँ अर्कै फिल्म रहेछ भन्ने भान पर्छ।
करिब तीन घण्टाको हल बसाइँमा एकै पटक डकुमेन्ट्री र फिल्म हेरेको अनुभव हुनु पक्कै सकारात्मक पक्ष त हैन नै।
फिल्ममा मामाको भूमिकामा राखिएका केदार घिमिरे माग्नेको चरित्र चटनीको रूपमा निर्माण गरिएको हो कि भान्जा जेरीलाई लक्ष्यमा पुग्न प्रोत्साहित गर्ने पात्र हुन् अलमल हुन्छ।
केही संवादमा माग्ने दर्शक हँसाउन सफल भएका छन्। तर अधिकांश ठाउँमा फिल्मको कथालाई लिक बाहिर लैजान उनको चरित्रले पनि साथ दिएको छ। सुरक्षा पन्तको चरित्र अर्थ न बर्थ बनेको छ फिल्ममा।
मुख्य विषय त्रिकोणात्मक प्रेमकथा बनाउन खोजे पनि भावनात्मक रूपमा निकै कमजोर छ प्रेमकथा। संवादमार्फत नै सबै बुझ्नुपर्ने बाध्यता छ। बाल्यकालदेखिको प्रेमीका जोसँग बेडसेयरसम्मको अवस्था निर्माण भइसकेको छ उ दुखमा पर्दा जेरीले देखाउने व्यवहार अनौठो देखिन्छ।
फिल्ममा राखिएको चुम्बनको दृश्यले केही दर्शकलाई हलसम्म त ल्याउँला तर दृष्य राखेको कथाको प्रशंग नमिल्दा ती दर्शकले पनि ह्या के देखाएको होला भन्ने पक्कापक्की छ।
छोरा सफलहुँदाको बाबुको भाव यतिसम्म कमजोर छ कि भर्खर अभिनय सिकेको कलाकारले पनि यो भन्दा बलियो अभिनय गर्न सक्छन्। यो मामिलामा भुवन केसी कमजोर देखिएका छन्।
पात्र चयनमा जसिता र अनमोलको जोडी प्राकृतिक देखिँदा उता अनमोल र आँचलको जोडी फिट नै देखिँदैन। बाल्यकालदेखिका एकै उमेर समूहका यी दुवै प्रेमी-प्रेमिका हुन् कि दिदी भाइ भन्ने प्रश्न उठ्छ पर्दामा दुवैको केमेस्ट्री हेर्दा।
अन्त्यमा,
यो फिल्मको सबैभन्दा बलियो पक्ष नै अनमोललाई पनि अभिनय गर्न आउँछ है भन्ने सन्देश नै हो। यसमा जसिताले पनि बाजी मारेकी छिन्। गाइड बनेकी उनको अभिनय यस अगाडिका फिल्मको तुलनामा निकै सुधारिएको देखिन्छ।
माइतीघरमा पनि केदार घिमिरे चटनीको भुमिकामा देखिए। यसमा पनि उनी त्यस्तै भुमिकामा छन्। उनले अब चटनी भूमिका नगरे राम्रो भन्ने सन्देश पनि दिएको छ जेरी अन टप फिल्मले। तर मनन गर्ने नगर्ने उनको इच्छा।
निर्देशक गुरुङले आफूमा भएको निर्देशनको क्षमता जेरी अन टपमा राम्रैसँग देखाएका छन् तर पटकथामा मेहनत गरेर हाफभन्दा अघि जेरी सगरमाथा चढ्न जाँदा त्यति धेरै ल्याङल्याङे दृश्यहरू नराखेको भए फिल्म थप बलियो हुन्थ्यो। यसमा पनि चुके उनी।
कात्तिक २, २०८२ आइतबार २१:२५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।