हत्या प्रयासको आरोपमा काँग्रेस धनुषाका सभापति पञ्जियारसहित ७ जना विरुद्ध पक्राउ पुर्जी जारी

जनकपुर : नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। हत्या प्रयासको आरोपमा अनुसन्धानका लागि धनुषा जिल्ला अदालतले पञ्जियारसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने सुशील कुमार चौधरीको जाहेरीका आधारमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ६२ वर्षका पञ्जियार, उनका छोरा ३५ वर्षीय अमर पञ्जियार, ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय नीरज मण्डल र क्षिरेश्वरनाथ १ रमदैया बस्ने ३८ वर्षीय उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
केही महिनाअघि नालाको विषयमा विवाद भएपछि कुटपिट भएको घटनामा पीडितले प्रहरीमा जाहेरी दिएपछि गत शुक्रवार अदालतबाट आरोपी सातै जना विरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत धनुषाले जनाएको छ।
कात्तिक २, २०८२ आइतबार १८:४५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।