सम्पादकहरूसँगको भेलामा केपी ओलीले देखाएको ‘राजनीतिक लीला’

काठमाडौं : जेन–जी आन्दोलनको प्रभावमा आफ्नै सरकारविरुद्ध विद्रोह भएर सत्ताच्युत भए पनि एमाले अध्यक्ष केपी ओलीमा त्यसको कुनै पश्चात्ताप देखिएको छैन। आन्दोलनको पहिलो दिन सडकमा सुरु भएको प्रदर्शनलाई व्यवस्थित गराउने अनि दोस्रो दिनको विध्वंस रोक्ने जिम्मेवारी कार्यकारी प्रमुखको रूपमा उनकै थियो। तर उनी ज्यान जोगाउन प्रधानमन्त्री निवासबाट हेलिकप्टरमा भागेर सेनाको शरणमा पुगेका थिए।
त्यसको परिणाम देश १२ घण्टासम्म कानुनहीन बन्न पुग्यो। सरकारीसँगै निजी सम्पत्तिहरू जलाएर खरानी बनाइयो। सङ्कटमा देशको नेतृत्व गर्नबाट च्युत भएर भागेका उनै ओली जेन-जी आन्दोलनको एक महिनापछि पुन पुरानै अवतारमा पत्रकार सम्मेलन गर्दै धम्की दिन सक्रिय भइसकेका छन्।
उनले सम्पादकहरूसँग आइतबार संवाद गर्दै जेन-जी आन्दोलनलाई सामान्यीकरण गर्दै यसलाई ‘राजनीतिक लीला’ भन्दै आफ्नै अपरिपक्वता र अवस्थाको मूल्याङ्कनमा कति कमजोर रहेछन् भन्ने लीला देखाए।
अन्तरक्रियामा ओलीले हालको राजनीतिक परिस्थिति र जेन–जी आन्दोलनपछिको अवस्थाबारे धारणा राख्दै भने, “यो दुई दिनको लीला मात्रै हो। यस्ता तमासाहरूले मलाई न त डराउँछ, न त आत्ताउँछ।”
उनले जस्तोसुकै अवस्थामा पनि आफू ‘अँध्यारो मुख लगाएर बस्ने’ मान्छे नभएको दाबी समेत गरे।
“तपाईँहरू अँध्यारो मुख किन नलगाएको भन्नुहुन्छ फेरि। यो दुई दिनको लीला हो क्या। यस्ता तमासाहरू देखेर म अँध्यारो मुख लगाएर बस्छु?” उनले प्रश्न गरे।
दम्भको अडान यथावत्
ओलीले आफूले यस्ता धेरै राजनीतिक उतारचढाव, षड्यन्त्र र सङ्कट देखिसकेको भन्दै यस पटकको घटना पनि अस्थायी मात्र भएको दाबी गर्दै आफ्नो दम्भ देखाइरहे। आफ्नो कमजोर शासनका कारण देश सङ्कटको अवस्थामा पुगेको अवस्थाबारे उनमा सामान्य खिन्नता समेत देखिएन।
“१४ वर्षको उमेरमा आन्दोलनमा हिँडेको, शाही कु देखेको, चौध वर्ष जेल बसेको, नेल–हतकडी लगाएर गोलघरमा थुनेको अनुभूति पाएको मान्छे म हो। त्यसैले यस्तो दुःखले मलाई कमजोर बनाउँदैन” उनले तर्क गरे।
जेन-जी आन्दोलनमा सहभागी भएकाहरू छिन्नभिन्न अवस्थामा छन्। उनीहरुबीच न भावी कार्ययोजनामा एकमत देखिएको छ न त एकताबद्ध नै छन्। यसमा चीन विरोधी गतिविधिमा संलग्नहरूको शङ्कास्पद सहभागिता पनि सार्वजनिक भइरहेको छ।
त्यसैलाई संकेत गर्दै उनले आन्दोलनका वास्तविक युवाहरू नै अहिले सङ्कटमा परेको दाबी समेत गरे। जेन–जी आन्दोलनमा सहभागी भएका वास्तविक युवाहरू त्रसित अवस्थामा रहेको र उनीहरू डेरा छोडेर भाग्नुपरेको अवस्था रहेको भन्दै “ड्र्यागनका ट्याटु खोपेका केही तत्त्वहरूले उनीहरूलाई धम्क्याइरहेको” दाबी गरे।
ओलीले जेन–जी आन्दोलनमा उठेका तीन प्रमुख माग भ्रष्टाचार अन्त्य, सुशासन र सामाजिक सञ्जालको स्वतन्त्रतालाई औचित्यपूर्ण भने तर यी सबै माग उठ्नुको कारक आफू भएको स्वीकार गरेनन्। उनले नेपालमा दर्ता नभएको सामाजिक सञ्जाल बन्द गराउने निर्णय गराएर कार्यान्वयनमा ल्याएपछि नै नेपोबेबी अभियान हुँदै भ्रष्टाचारविरुद्ध सडक प्रदर्शनको चरणसम्म पुग्दा विध्वंस मच्चिएको थियो।
उनले “जेन–जीले प्रधानमन्त्रीको राजीनामा नमागेको र तर उनीहरूलाई प्रयोग गरेर धकेलिएको र धोका दिएको दाबी गरे। सत्ता र सुशासनमा उनी यत्तिकै अडिग हो भने भदौ २४ मा देशका प्रमुख स्थानहरू जलिरहँदा उनी आन्दोलनकारीहरूको चुनौतीको सामना गर्न राजी हुनुको साटो प्रधानसेनापतिलाई राजीनामा जिम्मा लगाएर प्रधानमन्त्री निवास बालुवाटारबाट किन भागे भन्ने खुलाएनन्।
‘संवैधानिक निकास’को खोजी
ओली राजीनामा दिएर निवासबाट भागेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकार गर्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेका थिए। त्यसमा केही जेन-जी प्रतिनिधीहरुबाट आएको सिफारिस अनुसार सुशीला कार्कीलाई ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन गर्ने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त गरे।
यो प्रक्रियामा दलका नेताहरूसँग छलफल गरेर निर्णय गरेको राष्ट्रपतीले दाबी गरिरहेका छन्। कामचलाउ प्रधानमन्त्री रहेका ओलीकै सिफारिस अनुसार प्रधानमन्त्रीमा कार्कीलाई नियुक्त गरेको राष्ट्रपतिको दाबी छ।
ओलीले आफूले सिफारिस गरेको स्वीकार गरे तर कार्कीको नाम सिफारिस नगरेको उनको दाबी छ। सम्पादकहरूसँगको छलफलमा ओलीले आफूले सत्ताबाट हटेपछि पनि संविधान र लोकतान्त्रिक प्रक्रियाभित्रै रहेर समस्या समाधान गर्न प्रयास गरेको दाबी गर्दै राष्ट्रपतिसमक्ष पठाएको पत्र पढेर सुनाउँदै भने “वर्तमान असहज र असाधारण अवस्थामा संविधान र लोकतान्त्रिक परिपाटीलाई पुनः शान्तिपूर्ण स्थितिमा फर्काउन आवश्यक कदम चाल्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएकाले संविधानभित्रबाट आवश्यक निर्णय लिन सिफारिस गर्दछु।”
“मैले संविधानभित्रबाट समाधान खोज्न सिफारिस गरेको हुँ। त्यसमा सुशीला कार्कीको नाम कतै छैन” उनले भने “त्यसमा सुशीला कार्की भन्ने वा अरू कोही भन्ने कुरा छैन। संविधान र संसद् नचलाउनुपर्ने भन्ने कुरा राष्ट्रपतिको उपस्थितिमा, म कार्यवाहक प्रधानमन्त्री र प्रधानसेनापति भएको बैठकमै मैले सिफारिस गरेको थिएँ।”
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैँले प्रधानमन्त्रीमा सिफारिस गरेको कार्कीको सरकारलाई हाहुबाट बनेको सरकार भनेर ओलीले टिप्पणी गरेको भन्दै आलोचना गरेका थिए।
आइतबार ओलीले प्रचण्डलाई चुनौती दिँदै भने, “यदि मैले सुशीलालाई प्रधानमन्त्री बनाउने सिफारिस गरेको प्रमाण छ भने निकालिदिए हुन्छ। म तयार छु।”
उनले प्रधानसेनापतिसहितको उपस्थितिमा राष्ट्रपतिसँग भएको छलफलमा संविधान चलाउन हुँदैन भन्ने नभएको तर संविधानलाई भित्रैबाट बचाउने उपाय खोज्नुपर्छ भनेको दाबी गरेका थिए।
‘मोबाइल सिज’ र निगरानीभित्रको मौनता
ओलीले बालुवाटारको सरकारी निवासबाट सेनाको ब्यारेकमा बस्दाका दिनहरूबारे समेत खुलाए। राजीनामा दिएपछि आफू सेनाको निगरानीमा रहेको र त्यस अवधिमा सेनाले फोनसमेत प्रयोग गर्न नदिएको दाबी गरे। उनका अनुसार सुशीला कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा शपथ नगरेसम्म सेनाले उनको मोबाइल दिएको थिएन।
“राजीनामा दिएपछि म सेनाको सुरक्षामा थिएँ। मेरो मोबाइल सिज गरिएको थियो। कसैसँग सम्पर्क गर्न पाएको थिइनँ,” ओलीले भने “प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने क्षणसम्म पूर्ण निगरानीमा थिए र ‘स्वतन्त्र रूपमा कुरा गर्न पाएको थिइन।”
‘म भ्रष्टाचारबाट मुक्त छु, छानबिन गर्नुस्’
अन्तरक्रियामा ओलीले आफू विरुद्ध चलाइएका भ्रष्टाचारका आरोपलाई अस्वीकार गर्दै पुनः छानबिन गर्न सरकारलाई चुनौती दिए।
“मैले एक पैसा भ्रष्टाचार गरेको छैन। छानबिन गर्नुस्, पत्रकार महासङ्घले गरे पनि हुन्छ,” उनले भने। “मेरो घर डढेको खरानीको कणकणसम्मको हिसाब गर्नुस्, केही भेटिँदैन।”
उनले राजनीतिक प्रतिशोधका आधारमा लगाएको आरोपले आफूलाई रोक्न नसक्ने दाबी गर्दै भने, “म सत्यताबाट भाग्दिन। जसले जति खोजे पनि मैले केही लुकाएको छैन।”
उनले आफ्नो प्रधानमन्त्रीकालमा देशमा शान्ति र स्थिरता थियो रहेको र सार्वभौमिकता बलियो रहेको भन्दै अहिले त्रास र अनिश्चितताको शासन आएको दाबी गरे। देश विकासको बाटोमा रहेको र भन्दै उनले बदलिएको परिस्थितिमा पनि देशप्रतिको बफादारिता अडिग रहेको दाबी गरे।
उनले नेपालमा दल र नेताप्रतिको घृणा बढेको स्वीकार गरे, तर त्यसलाई व्यक्तिगत निराशा नभई राजनीतिक अस्वस्थतालाई कारक रहेको ठहर गरे। उनले आफू ७३ वर्ष पुगेको उल्लेख गर्दै देशको भविष्यका लागि अन्य पुस्ताहरूले पनि जिम्मेवारी लिनुपर्ने बताए।
कात्तिक २, २०८२ आइतबार १८:२४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।