‘मन बिनाको धन’ को पोष्टरमा भावुक देखिए बाल गायक अशोक दर्जी

काठमाडौं : झापाको दमक आसपासमा बेसुरा गीत गाएर दर्शकको मन जितेका बाल गायक अशोक दर्जी अब फिल्ममा मुख्य भूमिकाको रुपमा देखिने भएका छन्।
सात वर्षअघिदेखि संगीतकार टंक बुढाथोकीले उनलाई ‘मन बिनाको धन ठुलो कि धनबिनाको मन’ गीत गाउन लगाएका थिए। आफ्नै मार्गदर्शनमा हुर्केका दर्जी पहिलो गीतबाटै दर्शकमाझ चर्चित भएका थिए।
अब उनी फिल्म ‘मन बिनाको धन’ मार्फत अभिनेताका रूपमा डेब्यु गर्दैछन्। फिल्म यही कात्तिक २१ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। निर्माण टिमले प्रचारप्रसारका लागि शुक्रबार नयाँ पोस्टर सार्वजनिक गरेको छ।
पोस्टरमा अशोकलाई मुख्य पात्रको रूपमा भावुक मुद्रा सहित प्रस्तुत गरिएको छ, जसले उनलाई कथासँग गहिरो सम्बन्ध भएको झल्काउँछ।
पोस्टरमा अशोकसँगै सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, र रवीन्द्र झा लगायत कलाकारहरू देखिएका छन्। यसअघि सार्वजनिक पोस्टरमा केवल अशोकलाई मात्र प्रस्तुत गरिएको थियो।
सामाजिक कथावस्तुमाथि आधारित यो फिल्मको कथानिर्देशन टंक बुढाथोकी स्वयंले गरेका छन् भने पटकथा र संवाद शिवम अधिकारीले तयार पारेका छन्। अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्।
फिल्ममा दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, नीता ढुंगाना, रमेश विश्वकर्मा, रमाथ पल्या, बुद्धि तामाङ, रवीन्द्र झा लगायत कलाकारको अभिनय रहनेछ। कार्यकारी निर्माता सपना शर्मा हुन् भने विष्णु माया मैनाली निर्माता हुन्। सह–निर्माताका रूपमा जी.पी. संग्रोला, बिबेक नेपाल, बिजया पाण्डे रहेका छन्।
संगीत पनि टंक बुढाथोकीकै लेखन, निर्माण र निर्देशनमा तयार भएको छ। फिल्मको छायांकन सौरभ लामाले, कोरियोग्राफी विराज गहतराज र रामजी लामिछानेले, सम्पादन मित्र डी. गुरुङले गरेका छन्। वितरणको जिम्मेवारी एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले लिएका छन्।
कात्तिक २, २०८२ आइतबार १३:५५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।