तिहारमा पाँच लाख माला बन्दै छ चितवनमा, विदेशसम्म हुन्छ निर्यात

तिहारमा पाँच लाख माला बन्दै छ चितवनमा, विदेशसम्म हुन्छ निर्यात
तस्बिर : किशोर खनाल

चितवन : तिहारमा आवश्यक फूलका लागि समेत विदेशकै भर पर्नुपर्ने बाध्यताकाबीच चितवन जिल्लामा उत्पादन हुने फूलले जिल्लाको माग मात्रै धान्दैन, अन्य जिल्लासँगै विदेशसम्म निर्यात हुन्छ।

फ्लोरिकल्चर एसोसिएसन चितवनका अध्यक्ष तेजेन्द्रप्रसाद सापकोटाका अनुसार यो वर्ष चितवनका ४० बिघामा सयपत्री फूलको उत्पादन भएको छ। त्यसबाट लगभग ५ लाख माला बन्न सक्छ।

चितवनमा तीन लाख माला खपत हुने र अन्य माला काठमाडौं लगायतका जिल्लासँगै विदेशसम्म निर्यात हुने उनले बताए।

“विगतका वर्षहरूमा चितवनमा उत्पादित फूलले यहाँको मागलाई धान्न मुस्किल पर्ने अवस्था थियो, तर अहिले यहाँको माग धानेर पनि काठमाडौँमा झन्डै एक लाख माला निर्यात गर्ने योजना छ” उनले भने।

फ्लोरिकल्चर एसोसिएसन चितवनले अहिले भारतबाट अवैध फूल नेपाल आइरहेको दाबी गर्दै त्यसलाई रोक्न स्थानीय प्रशासनसँग मागसमेत गरेको छ।

सुतरीको डोरीमा उनेर बनाइएको माला भारतबाट आयातित रहेको र नेपाली माला धागोमा उनिएको हुने एसोसिएसनले जनाएको छ। नेपाली एउटा मालाको खुद्रा मूल्य एक सय रुपैयाँ निर्धारण गरिएको छ।

चितवनका फूलखेतीका गुरु दीपक पाख्रिन

भरतपुर महानगरपालिका–२६, दिव्यनगरका दीपक पाख्रिन चितवनका फूलखेतीका गुरु मानिन्छन्। उनले सयपत्री फूलखेती गर्न थालेको २५ वर्ष भयो। शिक्षण पेसा छोडेर फूलखेतीमा जमेका पाख्रिन यसवर्ष चार बिघामा सयपत्री फूलको खेती गरेका छन्।

जग्गा भाडामा लिएर फूलखेती गरेका पाख्रिन चितवन बाहिर पनि फूल तथा माला निर्यात गर्ने किसान हुन्।

काठमाडौँमा १० वर्षसम्म शिक्षकको रूपमा काम गरेका पाख्रिनले २०५५ सालमा शिक्षण पेसा छाडेर फूलखेतीमा लागेका हुन्। अहिले उनलाई फूलखेतीको गुरुको रूपमा सबैले मान्छन्। उनले धेरै फूलखेती गर्ने किसान जन्माए, जसका कारण आज चितवन फूलमा आत्मनिर्भर मात्र होइन, विदेश निर्यात गर्न सक्षम भएको छ।

केही वर्ष अघिसम्म चितवनमा सयपत्रीको माला भारतबाट आयात हुन्थ्यो। जब पाख्रिनजस्ता किसानले फूलखेती सुरु गरे आयात रोकियो। अहिले पनि भारतबाट माला अवैध रूपमा आइरहेको पाख्रिन बताउँछन्।

उनी भन्छन्, “स्वदेशी फूलसँग आयातित मालाले प्रतिस्पर्धा गर्न सकेन, स्वदेशी किसान हामी जमेका छौँ, चितवनलाई पुर्याएर बाहिरी जिल्ला पनि निर्यात गछौँ।” 

उनले तिहारको बेलामा २० जनालाई रोजगारी दिएका छन्। नियमित रोजगारीमा आठ जना छन्। बीउ, मल, खनजोत, कामदार, सिँचाइ र औषधिमा खर्च सबै कटाएर पनि फूलखेतीबाट मनग्य आम्दानी लिइरहेको उनी बताउँछन्।

चितवनमा यसपालिको तिहारमा करिब तीन लाख माला खपत हुने अनुमान गरिएको छ। यसपालि तिहारमा १० हजार वटा माला बिक्री गर्ने उनको योजना छ। तयारी मालालाई प्रतिगोटा एक सय र खुल्लालाई प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री गरिने उनले जानकारी दिए।

एक बिघामा फूलखेती गर्दा डेढ लाख रुपैयाँ खर्च लाग्ने र पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सकेको उनी बताउँछन्।

फूल विदेश निर्यात गर्ने किसान गोविन्द बास्तोला

चितवनको पदमपुरका किसान हुन् गोविन्द बास्तोला। उनले विगतका वर्षहरूमा तिहारको फूल हङकङ निर्यात गरेका थिए। अहिले पनि उनले निर्यात गर्ने योजना रहेको सुनाए। नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गर्ने किसान हुन् बास्तोला। यसवर्ष उनले पाँच बिघामा फूलखेती गरेका छन्।

यसवर्ष पाँच बिघामा फूलखेती गरेको उनले बताए। विगतमा जस्तै यसवर्ष पनि हङकङ पठाउने उनको योजना छ। गत वर्ष हङकङ पठाएपछि अन्य देशबाट समेत फूलको माग भएका उनले बताए। उनले तिहारको बेलामात्र होइन, अघिपछि पनि फूल खेती गर्दै आएका छन्।  

“गत वर्ष मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल हङकङ निर्यात गरेका थियौँ’” उनले भने, “चितवनबाट व्यावसायिक रूपमा फूल विदेश निर्यात गत वर्ष नै भएको हो, यसपटक पनि हामीले पठाउने योजना बनाएका छौँ।”

कात्तिक २, २०८२ आइतबार १३:४४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।