चितवनमा रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

चितवनमा रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले तिहारमा रातको १० सम्ममात्र देउसी भैलोका कार्यक्रम गर्न सूचना निकालेको छ। जिल्ला प्रशासन कार्यालय चितवनको सुरक्षा समितिको बैठकले तिहारलाई शान्त, अनुशासित र मर्यादित बनाउन भन्दै रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न अपिल गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले विषम परिस्थितिमा दीपावलीलगायतका चाडपर्वहरू संयमित भएर मनाउन अनुरोध गरेका छन्।  ‘अनुशासित, मर्यादित र मौलिक पर्वको रूपमा दीपावली पर्व मनाउन सबैमा अपिल गरिएको छ’ उनले भने।

जिल्ला प्रशासन कार्यालय भरतपुरले यसअघिका वर्षहरूमा देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रम गर्नका लागि रातको ९ बजेसम्मको समयसीमा निर्धारण गरेको थियो। यसपटक प्रशासनले एक घण्टा थप गरेर रातको १० बजेसम्म देउसी भैलो खेल्न अनुमति दिएको हो।

‘रातको १० बजेपछि देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रम गर्न-गराउन पाइने छैन, त्यस्तो समयसीमा काटेर देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रम चलाए नियन्त्रणमा लिन्छौँ’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘चाडपर्वको बेला हुल हुज्जत, अभद्र व्यवहार गर्ने, मौलिक संस्कार र संस्कृतिमाथि धावा बोल्नेमाथि कारबाही प्रक्रिया अगाडि बढाइन्छ।’

यस्तै, प्रचलित कानुनले वर्जित गरेका जुवातास, लङ्गुरबुर्जा, खेल्न÷खेलाउन तथा समाजमा आतङ्क सिर्जना गर्ने गरी भुइँचम्पा, पटाका, आतिसबाजी सामग्री बिक्री वितरण गरेमा पनि कारबाही गरिने प्रजिअ अर्यालले बताए। सार्वजनिक स्थानमा मादक पदार्थ सेवन, लागू पदार्थ सेवन गरेको भेटिएमा कारबाही गर्ने प्रशासनले जनाएको छ।

कात्तिक २, २०८२ आइतबार १३:१२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।