कागेश्वरीधाममा कागपूजा : यस्तो छ शिवलिंगमा कागले दूध चढाएको किंवदन्ती

कागेश्वरीधाममा कागपूजा : यस्तो छ शिवलिंगमा कागले दूध चढाएको किंवदन्ती

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-१, काठमाडौंको घना जंगलभित्र रहेको कागेश्वरीधाम काग तिहारमा भक्तजनले भरिन थालेको छ। यस धाममा भगवान् शिवको लिंग स्वरूप मन्दिरसँगै कागको सुनौलो प्रतिमा र झरना रहेका छन्।कागपूजाको अवसरमा यहाँ विशेष पूजाअर्चना गरिन्छ। भक्तजनहरूले शिवलिंगसँगै सुनौलो काग प्रतिमालाई माला लगाएर पूजाअर्चना गर्ने परम्परा रहेको छ।

कागेश्वरी महादेव मन्दिरसँग सम्बन्धित किंवदन्ती अनुसार, उहिल्यै काठमाडौँको गागल गाउँ नजिक मानिसहरू गोठ बनाएर बस्दथे। गोठालाहरू गाईको दूध उमालेर राख्थे, तर बारम्बार दूधको तर हराउँथ्यो। एकदिन गोठालाले निगरानी गर्दा देखे– एक कागले खुट्टाको पञ्जाले दूधको तर सोरेर उडाइरहेको रहेछ।

गोठालाले त्यस कागलाई पच्छ्याउँदै गए र अहिलेको कागेश्वरी मन्दिर भएको ठाउँमा आइपुगे। त्यहाँ पुग्दा उनले देखे- सो कागले दूधको तर शिवलिंगमा चढाएको थियो। त्यस घटनापछि सो स्थललाई ‘कागेश्वरी महादेव’ भनेर चिनिन थालिएको जनविश्वास छ।

आज पनि त्यही परम्परा जीवित छ। काग तिहारको दिन भक्तजनहरू यहाँ आइ शिवलिंग र कागको प्रतिमामा दूध, अक्षता र फूल चढाएर पूजा गर्छन्। स्थानीयको भनाइमा, कागेश्वरीधाममा पूजा गरे घरमा नकरात्मक शक्ति प्रवेश नगर्ने, घर-परिवारमा सुस्वास्थ्य र समृद्धि आउने विश्वास गरिन्छ।

जंगलको शान्त परिवेशमा अवस्थित यो धाम अहिले धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। स्थानीय युवाहरूले यसको संरक्षण र सरसफाइमा अग्रसर हुँदै हरेक वर्ष कागेश्वरी पूजाको दिन विशेष मेला आयोजना गर्छन्।

कात्तिक २, २०८२ आइतबार १२:५५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।