रोजगारी नपाएर तरकारी खेती थालेकी रिममाया, अहिले आफै बनिन् रोजगारदाता

रोजगारी नपाएर तरकारी खेती थालेकी रिममाया, अहिले आफै बनिन् रोजगारदाता

बागलुङ : ढोरपाटन नगरपालिका-४ खुङ्गाकी रिममाया बुढाथोकी सात वर्षअघि आफ्ना छोराछोरीलाई पढाउन बागलुङ बजार झरेकी थिइन्। गाउँबाट बजार सरेपछि सुरुमा उनलाई नयाँ परिवेशमा घुलमिल हुन निकै गाह्रो पर्यो। बिहान-बेलुका छोराछोरीसँग समय बिते पनि दिनको समयमा एक्लोपन महसुस हुन्थ्यो। केही काम गर्ने सोच बनाइन्, तर बिरानो ठाउँमा कसले दिन्थ्यो र रोजगारी!

त्यसबीच वरपरका स्थानीयलाई व्यावसायिक रूपमा तरकारीखेती गर्दै गरेको देखेपछि बुढाथोकीलाई पनि बारीमा हात हाल्ने इच्छा जाग्यो। त्यसपछि उनले जमिन भाडामा लिएर तरकारीखेती सुरु गरिन्। अहिले उनी बागलुङ बजारकी उत्कृष्ट महिला किसानका रूपमा परिचित छिन्। बागलुङ नगरपालिका–४ ओढारचौरमा उनले चार वर्षअघि तरकारीखेती सुरु गरेकी हुन्। बजार नजिकै भएकाले उत्पादन भएको तरकारी सजिलै बिक्री हुन्छ। उनका बारीमा वर्षभरि विभिन्न तरकारी फल्छन्।

पछिल्ला वर्षमा बुढाथोकीले तरकारीसँगै च्याउखेती पनि सुरु गरेकी छन्। सन् २०७५ सालमा श्रीमान् र छोराछोरीसँगै बागलुङ झरेकी उनले हाल बागलुङ नगरपालिका–४ मा १५ रोपनी जमिन वार्षिक ८३ हजार रुपैयाँ भाडा तिरेर लिजमा लिएकी छन्। सो जमिनमा उनले चारवटा च्याउ र तीनवटा टमाटरका टनेल निर्माण गरेकी छन्। उनका बारीमा च्याउ, टमाटर, लौका, घिरौला, बोडी, सिमी, खुर्सानी, धनियाँ, साग, भेन्टा, अदुवा र बेसारजस्ता मसलाजन्य बालीहरू पनि फलाइन्छ। अहिलेसम्म उनले करिब २५ लाख रुपैयाँभन्दा बढी लगानी गरेकी छन्।

बुढाथोकी भन्छिन्, ‘सुरुमा दिन कटाउन गाह्रो हुन्थ्यो, अहिले दिनभर बारीमा काम गर्दा साँझ पर्छ पत्तै हुँदैन। बसिरहनुभन्दा केही उद्यम गर्दा राम्रो हुन्छ भन्ने सोचेर सुरु गरेकी थिएँ, अहिले राम्रो हुँदै गएको छ। बजार नजिकै भएकाले बिक्रीमा समस्या छैन। कतिपय उपभोक्ता त बारीमै आएर तरकारी किन्नुहुन्छ।’ 

हाल उनी तरकारीबाट वार्षिक ४ लाख र च्याउबाट ५ लाख गरी करिब ९ लाख रुपैयाँ आम्दानी गर्न थालेकी छन्। व्यवसाय विस्तारका क्रममा उनले “गरिमा कृषि फार्म” दर्ता गरेकी छन् र मासिक तलबमा एक जनालाई रोजगारी दिएकी छन्। उनका श्रीमान् कपिल बुढाथोकी र छोराछोरी पनि समय-समयमा फार्मको काममा सघाउँछन्।

तरकारीखेती विस्तार र व्यवस्थापनका क्रममा बुढाथोकीले विभिन्न निकायबाट सहयोगसमेत पाएकी छन्। यसै वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उद्यमशीलता कार्यक्रमअन्तर्गत उनले च्याउखेतीका लागि टनेल व्यवस्थापनमा ४ लाख रुपैयाँ अनुदान पाएकी छन्। उनले भनिन्, ‘अनुदान पाएपछि उत्पादन बढाउन सजिलो भएको छ । बजारको समस्या छैन, तर पानीको अभावले उत्पादन बढाउन कठिन छ ।’ 

गत वर्ष कृषि ज्ञान केन्द्रबाट उनले दुईवटा टमाटर टनेलका लागि सहयोग पाएकी थिइन् भने यस वर्ष मसला बाली प्रवर्द्धनका लागि प्रविधि सहयोग पाएकी छन्। बागलुङ नगरपालिकाबाट पनि उनले तीन वर्षअघि सहयोग प्राप्त गरेकी थिइन्। यद्यपि, सिँचाइका लागि पर्याप्त पानी नहुँदा केही कठिनाइ भोग्नुपरेको उनको गुनासो छ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालका अनुसार किसानहरूलाई प्रोत्साहित गर्न केन्द्रले अनुदानका साथ प्राविधिक सहयोग प्रदान गर्दै आएको छ। उनले भने, ‘हामी समय-समयमा किसानको फार्ममै पुगेर परामर्श दिने गर्छौं। बुढाथोकीजस्ता सक्रिय किसानलाई आवश्यक तालिम र उपकरण पनि दिइन्छ।’ 

सिलवालका अनुसार पछिल्ला वर्षमा बागलुङका धेरै किसानहरू तरकारीखेतीतर्फ आकर्षित भएका छन्। ‘यहाँ उत्पादन भएको तरकारीलाई बजार नपाउने समस्या छैन,’ उनले भने, ‘बुढाथोकीजस्ता किसानले बजार क्षेत्रमै राम्रो उदाहरण स्थापित गरेका छन्।’ 

कात्तिक २, २०८२ आइतबार ११:४५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।