थप ५० रुग्ण ठेक्का तोड्दै सरकार

काठमाडौं : सडक र पुल निर्माणका लागि सम्झौता गरेर वर्षौंसम्म काम नगरी आयोजना अलपत्र पारेका ठेकेदारहरूविरुद्ध कारबाही सुरु गरिएको छ। सडक विभागअन्तर्गतका विभिन्न कार्यालयहरूले थप ५० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छन्।
सडक विभागका अनुसार शुक्रबार १७ र शनिबार १ वटा गरी १८ रुग्ण ठेक्कामा प्रक्रिया अघि बढाइएको थियो भने आइतबार थप ५० ठेक्का तोड्ने तयारीस्वरूप सार्वजनिक सूचना जारी गरिएको हो।
सडक डिभिजन कार्यालय जनकपुरले २१ ठेक्का, काठमाडौँले सात, ओखलढुङ्गा र अछामले पाँच–पाँच, पाल्पा र दमौलीले चार–चार र धनकुटा, पोखरा, मध्यपहाडी तथा गोरखा सडक योजनाले एक–एक ठेक्का तोड्ने प्रक्रिया अघि बढाएका छन्।
यी सबै ठेक्का “किन नतोड्ने ?” भन्ने शीर्षकमा सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित ठेकेदारलाई १५ दिनभित्र स्पष्टिकरण दिन आह्वान गरिएको छ।
सहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएका थिए । मन्त्रालयका अनुसार हालसम्म सडक विभागअन्तर्गत करिब दुई सय ५८ ठेक्का रुग्ण अवस्थामा छन्।
ठेक्का सम्झौता भएकामध्ये धेरैले पटक–पटक म्याद थप गराए पनि तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न चासो देखाएका छैनन् । धेरै निर्माणाधीन आयोजना अधुरै अवस्थामा छाडिएका छन् र ठेकेदारहरू लामो समयदेखि कार्यस्थलमै उपस्थित नभएकाले ठेक्का उल्लङ्घन भएको जनाइएको छ।
विभागले विभिन्न मितिमा लिखित र मौखिक रूपमा काम सम्पन्न गर्न बारम्बार अनुरोध गरे पनि ठेकेदारहरूले निर्माण सम्पन्नतर्फ चासो नदेखाएको र सम्झौताअनुसारको काम नगरेको जनाएको छ।
अब प्रकाशित सूचनाअनुसार, सम्बन्धित ठेकेदारहरूले १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता तथा ठेक्का नतोड्ने ठोस कारणसहित प्रमाण पेस गर्नुपर्नेछ।
त्यो अवधिभित्र पनि काम सुरु गर्न तदारुकता नदेखाएमा सार्वजनिक खरिद ऐनअनुसार ठेक्का सम्झौता अन्त्य गरिने विभागले जनाएको छ। साथै, ठेकेदारलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत र धरौती रकम जफत गर्ने, पेश्की रकममा १० प्रतिशत ब्याजसहित असुल गर्ने र बाँकी कामका लागि लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्ने प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ।
कात्तिक २, २०८२ आइतबार १०:४२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।