झिनियाँ रोटीले रंगीन छन् पाल्पाका बजार, महिला उद्यमीलाई भ्याइनभ्याइ

झिनियाँ रोटीले रंगीन छन् पाल्पाका बजार, महिला उद्यमीलाई भ्याइनभ्याइ

पाल्पा : हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै जाँदा पाल्पाका बजारहरू झिनियाँ रोटीले भरिएका छन्। तिहारमा दिदीबहिनीले दाजुभाइलाई उपहारस्वरूप झिनियाँ दिने परम्परा भएकाले यसको माग अहिले निकै बढेको छ।

यतिबेला पाल्पाका महिला उद्यमीहरू झिनियाँ बनाएर बेच्नमै व्यस्त छन्। तिहारमा अत्यावश्यक परिकारका रूपमा मानिने झिनियाँ रोटी र चिनीसहितका विभिन्न परिकार बनाएरै उनीहरूले मनग्य आम्दानी गर्न थालेका छन्। बजारमा झिनियाँसहितका तयारी रोटी सजिलै पाइने भएपछि स्थानीयहरू घरमै बनाउनेभन्दा खरिद गरेर लैजान थालेका छन्, जसका कारण घरेलु महिला उद्यमीलाई फुर्सद छैन।

तानसेन, निस्दीको गल्धा, रामपुर नगरपालिका, रम्भा, माथागढी, रिब्दीकोट, बगनासकालीलगायत पालिकाका महिलाहरू अहिले झिनियाँ बनाउने र बिक्री गर्ने काममै रमाइरहेका छन्। उनीहरूले यही रोटी बिक्री गरेर चाडपर्व मनाउनेदेखि घरखर्च धान्नेसम्मको काम गरिरहेका छन्।

तानसेन नगरपालिका–३ टक्सारटोलका अधिकांश घरमा अहिले रंगीबिरंगी झिनियाँले सजावट गरिएको छ। नेवारी समुदायमा विशेष रूपमा प्रचलित झिनियाँ रोटी तिहारका लागि तयारी अवस्थामा राखिएको छ। तानसेनका गल्ली, बजार र पसलहरूमा एक सातादेखि झिनियाँ रोटी बिक्री सुरु भइसकेको छ।

तानसेन टक्सारटोलकी झिनियाँ व्यवसायी निर्मया श्रेष्ठ अहिले व्यापारले निकै व्यस्त छिन्। करिब एक दशकदेखि व्यावसायिक रूपमा झिनियाँको व्यापार गर्दै आएकी उनी बिहान-साँझ फुर्सदमा झिनियाँ बनाउँछिन्। दसैँ र तिहारका बेला व्यापार निकै फस्टाउने भएकाले उनले वर्षेनी डेढदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने बताउँछिन् ।

त्यस्तै, सोही टोलकी नारायणीदेवी बज्राचार्य तीन दशकदेखि झिनियाँ बिक्री र वितरण गर्दै आएकी छन्। दसैँ-तिहारका समयमा मात्र साढे तीनदेखि ६ लाख रुपैयाँ बराबरको झिनियाँ बिक्री हुने उनको भनाइ छ। बजारमा कुनै समस्या नभएकाले उत्पादन गर्न सके राम्रो आम्दानी हुने बज्राचार्य बताउँछिन्।

बज्राचार्यकै जस्तै टक्सारटोलका अन्य महिलाहरू पनि झिनियाँ बनाएरै राम्रो आम्दानी गर्दै आएका छन्। नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने साना घरेलु उद्योगहरू सञ्चालनमा छन्। तिहारमा दाजुभाइलाई टीका लगाइदिएपछि सेलरोटी, फिनी रोटी र अन्य परिकारसँगै झिनियाँ खुवाउने चलन रहेकाले यसको व्यापार हरेक वर्ष झनै फस्टाउँदै गएको छ ।

रामपुर नगरपालिका–५ की लक्ष्मी श्रेष्ठ पनि दसैँअघिदेखि नै झिनियाँ बनाउने र बिक्री गर्ने काममा जुटेकी छन्। उनका अनुसार रोटीको माग अत्यधिक भएकाले बजारको कुनै समस्या छैन। “माग त यति धेरै छ कि सबैलाई पठाउनै सकिँदैन,” उनी भन्छिन्, “कहिलेकाहीँ आफ्नै उत्पादन नपुगेर अन्य महिलाले बनाएको झिनियाँ पनि खरिद गरेर पठाउँछु ।”

पाल्पामा उत्पादित झिनियाँ अहिले गुल्मी, स्याङ्जा, पर्वत, रुपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, कास्की, तनहुँलगायत जिल्लामा पनि ठूला मात्रामा पठाइने गरेको व्यवसायीहरू बताउँछन्। तिहार नजिकिँदै जाँदा यी झिनियाँले बजार र घर दुवैमा रौनक थपेका छन्।

कात्तिक २, २०८२ आइतबार १०:१७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।