डेडिकेटेड ट्रंक लाइन बक्यौता बुझाउन प्राधिकरणले दिएको अन्तिम समय आज सकिँदै

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले उद्योगीहरूलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम बुझाउन दिएको अन्तिम समय आज (कात्तिक २ गते) सकिँदै छ।
प्राधिकरणले २८ महिनासम्म किस्ताबन्दी सुविधा दिँदै समयसीमा तोकेको थियो। आज बेलुकीसम्म पनि किस्ता नबुझाए लाइन काट्ने चेतावनी प्राधिकरणले दिएको छ।
यसअघि प्राधिकरणको सञ्चालक समितिले १२ असोजमा बसेर प्रशासकीय पुनरवलोकनसँग सम्बन्धित सम्पूर्ण काम र निर्णय खारेज गर्दै १७ कात्तिकभित्र बक्यौता बुझाउन निर्देशन दिएको थियो। तर, पछि १३ असोजमा सूचना सच्याउँदै म्याद २ कात्तिकसम्मका लागि पुनः तोकिएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार हालसम्म ९ वटा उद्योगले मात्र किस्ता बुझाएका छन्। उनका अनुसार हामा आइरन एन्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ, लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ तिरेका छन्।
त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकैपटक बुझाएको छ भने सम्राट सिमेन्टले तीन किस्ताबापत ४० लाख ४७ हजार, नवनेपाल प्लास्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ। यी उद्योगहरूबाट हालसम्म झण्डै ३ करोड २२ लाख रुपैयाँ बक्यौताबापत उठेको छ।
यता, केही उद्योगीहरूले भने बक्यौता बुझाउन समय र प्रक्रिया पुनर्विचार गर्न माग गर्दै शुक्रबार प्रधानमन्त्री सुशिला कोइरालालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन्।
कात्तिक २, २०८२ आइतबार ०९:५१:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।