दुई सातादेखि अवरुद्ध मेची राजमार्ग आजदेखि खुल्यो

दुई सातादेखि अवरुद्ध मेची राजमार्ग आजदेखि खुल्यो

इलाम : करिब दुई सातादेखि अवरुद्ध मेची राजमार्ग आजदेखि पुनः सञ्चालनमा आएको छ। असोज १८ गतेको भीषण वर्षापछि इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्डमा गएको ठूलो पहिरोका कारण राजमार्ग अवरुद्ध भएको थियो। मर्मत तथा पहिरो पन्छाउने काम सम्पन्न भएपछि आज राति ९ बजेबाट सवारीसाधन चल्न थालेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।

सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईका अनुसार स्थानीय बासिन्दा, सुरक्षाकर्मी र सडक विभागको संयुक्त प्रयासमा लगातार दुई साताको मेहनतपछि राजमार्ग सञ्चालनमा ल्याउन सफल भएको हो। पहिरो पन्छाउनका लागि ६ वटा एक्स्काभेटर, एक जेसिबी, ६ टिफर र दुई लोडर परिचालन गरिएको उनले बताए।

“ठूलो पहिरो र दैनिक भाँसिने समस्याका कारण काममा निकै कठिनाइ भयो,” भट्टराईले भने, “तर निरन्तर प्रयासपछि अन्ततः सडक खुलाउन सफल भयौँ। अहिले ठूला सवारीसाधनलाई एकपटकमा एउटामात्र सञ्चालन गर्न अनुरोध गरिएको छ।”

राजमार्ग सञ्चालनमा आएपछि इलाम, पाँचथर र ताप्लेजुङबाट झापा आवतजावत गर्ने सवारीसाधन र यात्रुहरूलाई सहज भएको डिभिजन प्रमुख भट्टराईले बताए।

यसअघि राजमार्ग बन्द भएपछि साना सवारीका लागि वैकल्पिक बाटोका रूपमा तिल्केनी–सिमलगोलाई सडकखण्ड सञ्चालन गरिएको थियो। सो मार्ग अन्तर्गत माईजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा अस्थायी ‘डाइभर्सन’ निर्माण गरी आवतजावत गरिएको थियो।

तर वैकल्पिक बाटोका रूपमा प्रयोग हुँदै आएको मेची कोरिडोर (केचना–कञ्चनजङ्घा सडक) भने अझै सञ्चालनमा आउन सकेको छैन। पुवाखोला खोलाको बेलिब्रिज बाढीले बगाएको र बेलासेस्थित माईखोलाको पक्की पुल भाँचिएपछि सो सडक अझै अवरुद्ध रहेको डिभिजन प्रमुख भट्टराईले जानकारी दिए।

कात्तिक १, २०८२ शनिबार २१:०७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।