पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा काठमाडौंमा मापसे जाँचमा समस्या, ३०० वटामा २७ वटा मात्र बाँकी

पर्याप्त ब्रेथलाइजर मेसिन नहुँदा काठमाडौंमा मापसे जाँचमा समस्या, ३०० वटामा २७ वटा मात्र बाँकी

काठमाडौं : काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) विरुद्धको अभियानमा ट्राफिक प्रहरीलाई अहिले उपकरणको अभावले समस्या परेको छ। ब्रेथलाइजर मेसिन पर्याप्त नभएपछि मापसे परीक्षणमा कठिनाइ उत्पन्न भएको हो।

गत भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरूको आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले उपत्यकाका विभिन्न ट्राफिक प्रहरी पोस्टमा रहेका ब्रेथलाइजर मेसिन जलेर नष्ट भएका थिए।

ती उपकरण पुनःसञ्जाल नहुँदा अहिले मापसे चेकजाँच सुचारु राख्न ट्राफिक प्रहरीलाई कठिनाइ भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले बताए।

उनका अनुसार, पहिले उपत्यकामा करिब ३०० वटा ब्रेथलाइजर मेसिन प्रयोगमा थिए। तर अहिले जम्मा २७ वटा मात्र बाँकी रहेका छन्। ती पनि विभिन्न ट्राफिक टोलीबीच आलोपालो प्रयोग गर्नुपरेको उनले बताए।

त्यस्तै, ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार, पहिले पर्याप्त मेसिन उपलब्ध हुँदा सवारी चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको नियमित परीक्षण गर्न सजिलो थियो। तर आन्दोलनका क्रममा उपकरण नष्ट भएपछि अहिले नियमित मापसे जाँचमै असर परेको उनले बताए।

कात्तिक १, २०८२ शनिबार २०:४५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।