मिरजको अस्पष्ट राजनीतिक यात्रा: जेनजी आन्दोलनको ऊर्जा कहाँ हरायो ?

काठमाडौं : जेनजी आन्दोलनपछि चर्चामा आएका मिरज ढुंगानाले शनिवार नयाँ राजनीतिक दल घोषणा गर्ने अपेक्षा जगाए। तर, नयाँ दलको नाम घोषणा गर्नुपर्ने मञ्च नै उनी र उनका सहयात्रीहरूका लागि ‘अस्पष्टता’को प्रदर्शनस्थल बन्यो।
नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा आयोजना गरिएको पत्रकार सम्मेलनले जेनजी आन्दोलनपछिको अन्योलको माहौलमा नेता बन्न चाहने युवामाझ बढेको नेतृत्वको लोभ देखायो।
जेन-जी आन्दोलनमा मिरजको योगदान आन्दोलनमा आउँछु भनेका दुर्गा प्रसाईँलाई नआउन अनुरोध गर्नमै सीमित थियो। आन्दोलनको दुई दिन उनी घरमै बसे, प्रदर्शनमा आएनन्। जब आन्दोलनबाट अनपेक्षित राजनीतिक परिणाम आयो तब मिरज कोठाबाट निस्किएर मिडियामा आफूलाई जेन-जी आन्दोलनको नेताको रूपमा प्रस्तुत गर्न थाले।
प्रारम्भमा उनी एक्लै थिए, पछि उनी अर्का सुधन गुरुङसँग देखिन थाले। शनिवार दलको घोषणा गर्ने भनेर बोलाएको पत्रकार सम्मेलनमा भने सुधन थिएनन्। बरु उनले मञ्चमा विवादित पत्रकार ऋषि धमलालाई मञ्चमा राखेका थिए।
घोषणा होइन, गुनासो
सामाजिक सञ्जालमा ‘नयाँ दल’को घोषणा गर्ने संकेत दिएर पत्रकार सम्मेलनको आयोजना गरेका मिरजले त्यहाँ दलको नाम होइन, आफ्ना माग मात्र सुनाए।
उनले कार्यक्रममा प्रत्यक्ष कार्यकारी शासन, विदेशमा रहेका नेपालीको मतदान अधिकार, नागरिकस्तरको छानबिन समिति र आर्थिक रूपान्तरणको नीतिलाई अगाडि सारे। यी सुन्दा ठुला र भावनात्मक सुनिए पनि त्यसमा कार्ययोजनाको अभाव देखिन्थ्यो।
उनले जेन-जी आन्दोलनको उपलब्धिको रक्षाका लागि आफू राजनीतिमा आउन बाध्य भएको तर्क गरिरहेका थिए। जेन-जी आन्दोलनमा स्वयंसेवक भनेर पछि नेतृत्व दाबी गर्न पुगेका सुधनले पनि यस्तै दाबी गर्ने गरेका छन्।
सुधनले निर्वाचनमा भाग लिने बताइरहेका छन्। तर मिरजले आफ्ना माग पुरा नभएसम्म निर्वाचनमा सहभागी नहुने बताए। उनको माग संविधान संशोधन नगरी सम्भव छैन। अहिलेको अन्तरिम सरकारले संविधान संशोधन गर्न सक्दैन।
जेनजी आन्दोलनले युवाको आक्रोश र परिवर्तनको चाहनालाई सडकमा ल्याएको थियो। तर, मिरजको शनिवारको उपस्थिति त्यस आन्दोलनको नेतृत्वमा दिशा र दृष्टिको अभाव देखायो। उनले आफ्नो पार्टीको नारा ‘गरिखान देऊ’ हुने बताए। यो आफैँमा नयाँ पनि हैन। आर्थिक, राजनीतिक दृष्टिकोणमा उनी निकै कमजोर देखिए शनिवार।
राजनीतिक समझदारीभन्दा भावनात्मक तर्क
सुशीला कार्की नेतृत्वमा सरकार गठन गर्दा नै प्रस्ट मिति नै तोकेर प्रतिनिधि सभाको निर्वाचनका लागि गठन भएको भनिएको छ। उनी प्रधानमन्त्रीमा नियुक्त भएपछि संसद् विघटन गराइन्।
तर मिरजले अहिलेको सरकारको म्याण्डेड चुनाव गराउने नभएको र संविधान संशोधन नै प्राथमिकता हुनुपर्ने दाबी गरे। तर संविधान संशोधन गर्ने संवैधानिक स्थान प्रतिनिधि सभा छैन अहिले। नयाँ प्रतिनिधि सभा ल्याउन निर्वाचन गर्नै पर्छ।
त्यसैले उनको यो तर्क राजनीतिक दृष्टिले निकै कमजोर देखियो। उनको ‘म्यान्डेटको पुनर्व्याख्या’ संवैधानिक भन्दा पनि अधिक भावनात्मक देखियो।
जेनजी आन्दोलनको पहिलो दिनमा भएको दमनपछि तत्कालीन सरकारले दोस्रो दिन नसोचेको धक्का पायो। बहालवाला प्रधानमन्त्री प्रधानमन्त्री निवासबाट भाग्नुपर्ने अवस्थाको निर्माण भयो। जेन-जी पुस्ताको माग अनुसार नयाँ सरकार गठन भयो। तर, त्यस आन्दोलनको नेतृत्व राजनीतिक रूपान्तरणतिर मोडिन खोज्दा ‘संगठनात्मक अपूर्णता’ र ‘नीतिगत अस्थिरता’को जालमा फस्दै गएको देखियो।
भिजनभन्दा बढी प्रचार
मिरजको शनिवारको प्रस्तुति व्यावसायिक प्रस्तोता जस्तो थियो-भाषणमा ऊर्जा थियो, भावनामा जोस थियो, तर दृष्टि र नीति स्पष्ट थिएन। उनले सगरमाथा, बुद्ध र हिमालको उदाहरण दिए। तर ती प्रतीकहरू विकासको नारा बन्न नसकेर भावनात्मक तर्कमा सीमित रहे। भावनाले मात्र देश बन्दैन भन्ने ज्ञानको कमी देखियो उनमा।
सकारात्मक पक्ष, जेनजी आन्दोलनले नेपाली युवामा राजनीतिक सचेतना जगायो, तर त्यो सचेतनालाई संस्थागत रूप दिन मिरज लगायतकाको नेतृत्वमा आवश्यक स्पष्टता र विश्वसनीयता देखिन सकेको छैन। उनको शनिवारको पत्रकार सम्मेलनले एउटा तथ्य स्पष्ट गर्यो-आन्दोलनको ऊर्जाले मात्र पुग्दैन, राजनीतिक यात्राका लागि दिशा, रणनीति र विश्वास पनि चाहिन्छ।
कात्तिक १, २०८२ शनिबार २०:४४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।