‘परान’को ट्रेलर सार्वजनिक

काठमाडौं : यही कार्तिक १४ गते रिलिज हुने बहुप्रतिक्षित नेपाली फिल्म ‘परान’ को ट्रेलर शुक्रबार काठमाडौंको रञ्जना हलमा सार्वजनिक गरिएको छ।
पारिवारिक कथा र भावनात्मक कथानकमा आधारित यस फिल्मले जीवनको उत्तरार्धमा सन्तानको साथ खोज्ने बाबुको संवेदनशील यात्रालाई चित्रण गर्ने संकेत ट्रेलरले दिएको छ।
ट्रेलरमा देखाइए अनुसार, सन्तानले आफ्ना आकांक्षा पछ्याउँदा एक्लोपन र सम्झनाको बन्धनमा बाँधिने अभिभावकको मनोविज्ञानलाई फिल्मले प्रस्तुत गरेको छ। निर शाह यस फिल्ममा मुख्य भूमिकामा देखिएका छन्। नेपाली चलचित्रका दिग्गज कलाकार र ‘भीष्मपितामह’ भनेर चिनिने शाहले लामो समयपछि शीर्ष भूमिकामा फर्किँदै गर्दा दर्शकमाझ फिल्मप्रति विशेष चासो बढेको छ।
डेब्यु निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ ले निर्देशन गरेको फिल्मको कथा पनि आचार्यकै रहेको छ भने पटकथा र संवाद यम थापाले लेखेका हुन्। फिल्मलाई गोल्छा समूह र प्रिज्मा समूहको संयुक्त लगानीमा स्थापित कम्पनी ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले निर्माण गरेको हो।
फिल्ममा वरिष्ठ कलाकार नीर शाह, महेश शाह, अञ्जना बराइल, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, सीमा काफ्ले, पुष्पराज ओझा, दमन रुपाखेती, सुब्रतराज आचार्य, यमन श्रेष्ठ, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय रहेको छ।
ट्रेलरले भावनात्मक पारिवारिक कथाको झलक दिएको कारण ‘परान’ मुख्यतः पारिवारिक दर्शकका लागि आकर्षण बन्ने अनुमान गरिएको छ।
कात्तिक १, २०८२ शनिबार २०:००:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।