कञ्चनपुर-कमला सडक : दुईपटक म्याद थपिँदा पनि काम ६७ प्रतिशतमै सीमित

कञ्चनपुर-कमला सडक : दुईपटक म्याद थपिँदा पनि काम ६७ प्रतिशतमै सीमित

सिरहा : रूपान्तरणीय गौरवको परियोजनाका रूपमा अघि बढाइएको कञ्चनपुर-कमला सडक विस्तार तथा स्तरोन्नतिको काम नियत समयमा पूरा हुन नसक्दा दुईपटक म्याद थपिएको छ। तर, हालसम्मको प्रगति जम्मा ६७ प्रतिशतमा सीमित छ।

चार लेनको सडक निर्माण गर्ने उद्देश्यले सन् २०२० मा सुरु गरिएको यो परियोजनाको ठेक्का चाइना रेलवे कम्पनी–२ इन्जिनियरिङ ग्रुपले पाएको थियो। रु १५ अर्ब ६६ करोड लागतको यो आयोजना सुरुमा २८ अक्टोबर २०२३ भित्र सम्पन्न गर्ने लक्ष्य थियो। समयमै काम नसकिएपछि पहिलोपटक १४ महिना र दोस्रोपटक १२ महिनाको म्याद थपिएको हो। अब कम्पनीले ३१ डिसेम्बर २०२५ भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।

परियोजनालाई दुई खण्डमा बाँडिएको छ- पूर्वी खण्ड कञ्चनपुरदेखि कुशहा (३९.४२ किमी) र पश्चिमी खण्ड कुशहादेखि कमला नदीसम्म (४७.४१ किमी)। तर, पश्चिमी खण्डअन्तर्गत लहान क्षेत्रको काम अत्यन्त सुस्त छ।

योजना पश्चिमखण्डका सूचना अधिकारी इञ्जिनियर सरोजकुमार कोइरालाका अनुसार अण्डरपास, ओभरपास र आकाशेपुलको पाइल फाउण्डेशन नबनिएकै कारण अन्य काम रोकिएको छ। “यी संरचना पूरा नगरी बाँकी काम अघि बढाउन सकिँदैन,” उनले बताए, “त्यही कारण प्रगति ढिलो भएको हो।”

सडकखण्डमा पर्ने नेपाल विद्युत् प्राधिकरणका पोल नहटाइँदा पनि निर्माणमा ढिलाइ भएको छ। लहान क्षेत्रका केही भागमा अझै पोलहरू यथावत् रहेका छन्, जसले ठेकेदार कम्पनीको काम प्रभावित बनाएको कोइरालाको भनाइ छ।

काममा ढिलाइ हुँदा स्थानीयले वर्षौंदेखि धुलो, हिलो र ट्राफिक अव्यवस्थाको सास्ती भोगिरहेका छन्। लहानको मुख्य बजार क्षेत्र अस्तव्यस्त बनेको छ भने व्यापार पनि ठप्पजस्तै भएको छ। सहिद स्मारक भत्काएर बनाइएको डाइभर्सनमार्फत एकतर्फी सवारी चलाइए पनि दुर्घटनाको जोखिम उच्च छ। असार महिनामा स्थानीयले यही कारण चक्काजामसमेत गरेका थिए।

मिर्चैयाको अण्डरपास र लहानको ओभरपासमा पाइल फाउण्डेशन बनेपछि रोकिएको काम असोज २३ गतेदेखि पुनः सुरु भएको हो। कम्पनीले लागत बढेको भन्दै आर्थिक नोक्सानी बेहोर्नु परेको दाबी गरेको छ। भदौ २४ गते तय भएको निर्माणसम्बन्धी छलफल स्थानीय आन्दोलनका कारण स्थगित भएपछि कम्पनीका प्रतिनिधि चीन फर्किएका थिए। सडक विभागले हाल पुनः समन्वय गरी छलफलको तयारी गरिरहेको जनाएको छ।

मिर्चैयास्थित पश्चिमखण्ड कार्यालयको पछिल्लो त्रैमासिक प्रतिवेदनअनुसार असार मसान्तसम्म ३९.४२ किलोमिटरमध्ये ३०.८५ किलोमिटर मात्र सडक कालोपत्र भएको छ। बाँकी काम अझै अधूरो छ, जबकि म्याद फेरि सकिन दुई महिना मात्रै बाँकी छ।

कात्तिक १, २०८२ शनिबार १९:३१:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।