हरेक संवादमा संवैधानिक राष्ट्रपतिलाई अगाडि सार्दै कार्यकारी प्रधानमन्त्री कार्की, सबै पक्ष जिम्मेवार रहन गरिन् आग्रह

हरेक संवादमा संवैधानिक राष्ट्रपतिलाई अगाडि सार्दै कार्यकारी प्रधानमन्त्री कार्की, सबै पक्ष जिम्मेवार रहन गरिन् आग्रह

काठमाडौं : कार्यकारी प्रमुखको रूपमा निर्वाचनका लागि सिधै दलहरूसँग संवाद सुरु गर्न पहल गर्नुको साटो संवैधानिक रूपमा सेरेमोनियल रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई अगाडि सारिरहेकी अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरिन्।

जेन-जी आन्दोलनपछि बदलिएको माहौलमा संविधान बाहिरबाट प्रधानमन्त्री बन्दै प्रतिनिधि सभा विघटन गराएकी उनले अहिलेसम्म प्रत्यक्ष आफैँ सक्रिय भएर दलहरूसँग संवादको प्रयास गरेकी छैनन्। यो बिचमा राष्ट्रपति पौडेलले नै विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई शीतल निवासमा बोलाएर प्रधानमन्त्री र मन्त्रीहरूसँगै राखेर संवादको वातावरण बनाउने प्रयास गरेका थिए।

गत साता भएको संवादमा प्रमुख दलबाट दोस्रो तहका नेताहरू मात्र सहभागी भए, पहिलो तहका आएनन्। दलहरूसँगको संवादमा सरकारले शान्ति सुरक्षाको अवस्थामा सुधार नगरेसम्म निर्वाचनको वातावरण बन्न नसक्ने बताएका थिए। एमाले विघटित प्रतिनिधि सभा ब्युँताउने पक्षमा उभिएको छ। नेपाली कांग्रेस भने यो विषय सर्वोच्च अदालतमा प्रवेश गरिसकेकाले अदालतको निर्देशन कुर्ने पक्षमा उभिएको छ।

त्यसयता कार्कीले दलका नेताहरूसँग पुन संवादको पहल गरेकी छैनन्। बरु यो बिचमा राष्ट्रपतीले नै जेन-जी पुस्ताका नेतृत्वहरूलाई शीतल निवासमा बोलाएर निर्वाचनको वातावरण बनाउन सघाउन आग्रह गरेका थिए।

शनिवार कार्कीले एक्समा लेख्दै फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको दाबी गर्दै तयारी अझै द्रुततर गतिमा अघि बढाइने र सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ भन्दै आग्रह गरिन्। शनिवारै राष्ट्रपति पौडेलको अग्रसरतामा शीतलनिवासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग सुरक्षाको अवस्था र निर्वाचन सुरक्षाबारे छलफल भएको थियो।

छलफलमा चारै सुरक्षा अङ्गका प्रमुखहरूले सरकारले निर्वाचन प्रक्रिया अगाडि बढाएमा सुरक्षा दिन सकिने बताएका थिए। उनीहरूले २०६२/६३ को जनआन्दोलनसँगै विद्रोहबाट शान्ति प्रक्रियामा आएको माओवादीका कारण उत्पन्न सुरक्षा चुनौती भन्दा अहिलेको सुरक्षा अवस्था बलियो रहेको भन्दै निर्वाचनका लागि सुरक्षाको अवस्था सकारात्मक रहेको बताएका थिए।

छलफलमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले भने जेन-जी आन्दोलनकोक्रममा सबैभन्दा धेरै नेपाल प्रहरीको साधन र स्रोतको क्षति भएको भन्दै निर्वाचन सुरक्षाको पूर्व तयारीका लागि सरकारले जतिसक्दो चाँडो आवश्यक स्रोत र साधन उपलब्ध गराउन आग्रह गरेका थिए।

प्रधानमन्त्री कार्कीले एक्समा राष्ट्रपति पौडेल, गृहमन्त्री र अन्य मन्त्रीहरूसमेतको उपस्थितिमा चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको तयारी र सुरक्षा अवस्थाका विषयमा गम्भीर छलफल गरिएको र चुनावको वातावरण तयार गर्न भइरहेका प्रयासको समीक्षा भएको  समेत उल्लेख गरेकी छन्।

उनले सबै सुरक्षा प्रमुखहरूले उच्च मनोबलका साथ सुरक्षा व्यवस्था मिलाउन तयार रहेको भन्दै चुनावको वातावरण बनाउन राजनीतिक तहबाटै पहलकदमी लिइएको र राजनीतिक दलहरूसँग संवादको सुरुवात भएको लेखेकी छिन्।

कात्तिक १, २०८२ शनिबार १९:१५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।