पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

पाकिस्तानमा हालैको बाढीबाट २.९ अर्ब अमेरिकी डलर बराबरको क्षति

एजेन्सी : पाकिस्तानमा हालै आएको विनाशकारी बाढीबाट करिब २.९ अर्ब अमेरिकी डलर, अर्थात् झण्डै ८२२ अर्ब पाकिस्तानी रुपैयाँ बराबरको क्षति भएको छ। यो तथ्यांक पाकिस्तानका योजना, विकास तथा विशेष पहल मन्त्री अहसान इकबालले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको हो।

मासिक विकास अद्यावधिक तथा बाढी क्षति मूल्याङ्कन प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री इकबालले पूर्ण आर्थिक क्षतिको ठ्याक्कै मूल्याङ्कनका लागि अझ विस्तृत अध्ययन भइरहेको बताए। उनका अनुसार, प्रारम्भिक रूपमा सबैभन्दा ठूलो प्रभाव कृषि क्षेत्रमा परेको छ, भने पूर्वाधार क्षेत्रमा मात्रै करिब ३०७ अर्ब रुपैयाँ (१.१ अर्ब डलर) बराबरको क्षति भएको छ।

बाढीका कारण देशभर करिब दुई लाख २९ हजार घरमा क्षति पुगेको सरकारको प्रारम्भिक विवरणमा जनाइएको छ।

मन्त्री इकबालका अनुसार, यी बाढीजन्य क्षतिले पाकिस्तानको चालू आर्थिक वर्ष (जुलाई २०२५–जुन २०२६) को कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि दरमा ०.३ देखि ०.७ प्रतिशत अंकले गिरावट ल्याउने अनुमान गरिएको छ। सरकारले यसअघि ४.२ प्रतिशत वृद्धि लक्ष्य तय गरेको भए पनि अब वृद्धि दर ३.५ देखि ३.९ प्रतिशतबीच सीमित हुने सम्भावना देखिएको छ।

“यी प्रारम्भिक अनुमानहरूले सरकारलाई पुनर्निर्माण र राहत कार्यमा मार्गदर्शन गर्नेछन्,” मन्त्री इकबालले भने, “विशेषगरी पूर्वाधार पुनर्निर्माण, जनजीविका पुनःस्थापना र भविष्यका जलवायुजन्य जोखिमको सामना गर्न क्षमता अभिवृद्धिमा ध्यान केन्द्रित गरिनेछ।”

कात्तिक १, २०८२ शनिबार १९:०७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।