राष्ट्रपतिलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ : २०६४ भन्दा अवस्था अनुकुल छ, सुरक्षाकै कारण चुनाव रोकिँदैन

राष्ट्रपतिलाई सुरक्षा प्रमुखहरूको ब्रिफिङ : २०६४ भन्दा अवस्था अनुकुल छ, सुरक्षाकै कारण चुनाव रोकिँदैन

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले आगामी निर्वाचन सुरक्षाकै कारण नरोकिनेमा आश्वस्त पारेका छन्।

शनिबार राष्ट्रपति भवन शीतल निवासमा भएको उच्चस्तरीय छलफलमा उनीहरूले २०६४ को भन्दा सहज परिस्थिति रहेको भन्दै निर्वाचन सम्पन्न गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता व्यक्त गरेका हुन्।

'२०६४ सालको संक्रमणकालीन अवस्थामा त चुनाव गराउन सकियो। चुनावको वातावरण त्यस्तो प्रतिकुल छैन, अनुकुलै छ', उनीहरूलाई उद्धृत गर्दै स्रोतले भन्यो।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूको समेत उपस्थिति रहेको उक्त भेटमा राष्ट्रपति पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्नेमा राजनीतिक दल र आम नागरिकलाई विश्वास दिलाउन सरकार र सुरक्षा निकायलाई निर्देशन दिएका थिए।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपति पौडेलले शान्ति सुरक्षा कायम गर्न र भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरूलाई ‘बोल्ड्ली’ प्रस्तुत हुन निर्देशन दिए। उनले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दीहरूलाई अविलम्ब नियन्त्रणमा लिन पनि आग्रह गरे।

छलफलमा प्रधानसेनापति अशोक सिग्देल र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले २०६४ सालको संक्रमणकालीन र माओवादीको दबदबा रहेको कठिन परिस्थितिमा समेत निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको स्मरण गराए।

उनीहरूले हालको अवस्था त्योभन्दा निकै सहज रहेकाले निर्वाचनका लागि वातावरण अनुकूल भएको बताउँदै शान्ति सुरक्षाबारे ढुक्क रहन राष्ट्रपतिलाई आग्रह गरे।

तर, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले भने हालैको ‘जेन-जी’ आन्दोलनका क्रममा प्रहरीतर्फ सबैभन्दा ठूलो क्षति भएकोतर्फ ध्यानाकर्षण गराए। उनले निर्वाचनअघि आवश्यक स्रोत र साधन उपलब्ध गराइएमा प्रहरी संगठन निर्वाचन सुरक्षाका लागि पूर्ण रूपमा तयार रहेको बताए।

राष्ट्रपतिसमक्ष उनले भने, 'हाम्रो साधन-स्रोतमा सबैभन्दा बढी क्षति भएको छ। चुनावअघि आवश्यक सामग्री उपलब्ध भएमा चुनावलक्षित सुरक्षा प्रबन्ध गर्न हामीलाई कुनै आपत्ति छैन।'

सुरक्षा प्रमुखहरूको ब्रिफिङपछि प्रधानमन्त्री सुशीला कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन्।

उनले सुरक्षा निकायलाई चाहिने सम्पूर्ण साधन-स्रोत सरकारले उपलब्ध गराउने आश्वासन दिँदै पूर्ण तयारीका साथ लाग्न निर्देशन दिए।

छलफलमा अन्तरिम सरकारकी प्रधानमन्त्री कार्की, अर्थमन्त्रीबाहेक अन्य मन्त्रीहरू, प्रधानसेनापति सिग्देल, प्रहरी महानिरीक्षक खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको सहभागिता थियो।

कात्तिक १, २०८२ शनिबार १५:०३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।