डा. पवनको उपचार अनुभव : पिलो निचोर्न पनि भारत पुग्ने दोधारामा गर्भवतीको अप्रेशन गर्न खोज्दा बिरामीले नपत्याएपछि...

डा. पवन कुमार साह, जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपीइएम) विशेषज्ञ हुन्।
उनको परिचय केवल विशेषज्ञतामा मात्र सीमित छैन; उनले विशेषगरी दुर्गमका बिरामीहरूको रोदन र उनीहरूले उपचारका लागि भोग्नुपरेको कष्टलाई नजिकबाट देखेका र महसुस गरेका छन्।
चिकित्सकीय पेशाको शिलशिलामा उनले देखे-भोगेका केही अविस्मरणीय अनुभवहरू उकेरासँग यसरी साटेका छन्:
महाकालीपारीको दोधारामा बिरामीले अप्रेशन गर्न चिकित्सकलाई नपत्याएपछि...
दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना गर्भवती युवतीको शल्यक्रिया (सिजरियन सेक्सन) गरेको प्रसंग डा. पवनको मानसपटलमा आज पनि ताजै छ।
यो प्रसंग करिब दुई वर्ष अघिको हो, जतिबेला डा. पवन निक साइमन्स इन्स्टिच्युटको जागिरे भएर सुदूरपश्चिमको कञ्चनपुर जिल्लास्थित दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्र पुगेका थिए।
यो नेपालको त्यो भूभाग हो, जसलाई महाकाली नदीले देशको मूल भूमिबाट अलग्याएको छ। त्यहाँका बासिन्दाहरूका लागि नेपालको महेन्द्रनगरभन्दा भारतको बजार नै नजिक र सहज थियो। उपचारका लागि पनि उनीहरूको पहिलो गन्तव्य भारत नै हुन्थ्यो।
डा. पवनले त्यहाँ पुग्दा देखे, सानोतिनो उपचारका लागि पनि दोधारा चाँदनीका मानिसहरू सीमापारि जान बाध्य थिए, जसले उनको मन खिन्न बनायो।
‘त्यहाँका मान्छे सामान्य पिलो निचोर्न पनि भारत नै पुग्नुपर्थ्यो,’ उनी त्यो अनुभव सुनाउँदै भन्छन्, ‘आफ्नै देशमा स्वास्थ्य संस्था हुँदाहुँदै उपचारका लागि अर्काको देशमा जानुपर्ने त्यो विवशताले मन छोयो।’
त्यसपछि उनले त्यो दुर्गम ठाउँमा सेवा गर्ने अठोट लिए। डा. पवन पुगेको करिब दश महिनामै दोधारा प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति भएर अस्पतालमा परिणत भयो र एउटा शल्यक्रिया कक्ष पनि तयार भयो। यससँगै सामान्य किसिमका शल्यक्रियाहरू त्यहीँ हुन थाले।
एक दिनको कुरा हो, बाहिर मुसलधारे वर्षा भइरहेको थियो र रातको करिब ११ बजेको थियो। प्रसव पीडाले छटपटाइरहेकी करिब २२ वर्षकी गर्भवतीलाई स्वास्थ्य केन्द्रमा ल्याइयो।
डा. पवन र उनको टिमले औषधि उपचारबाट सामान्य रूपमा सुत्केरी गराउन हरसम्भव प्रयास गर्यो, तर त्यो सम्भव भएन। अन्ततः, आमा र बच्चा दुवैको ज्यान बचाउन शल्यक्रिया (सिजरियन सेक्सन) नै एकमात्र विकल्प देखियो।
तर, समस्या के थियो भने त्यसअघि त्यहाँ कहिल्यै शल्यक्रिया गरेर बच्चा निकालिएको थिएन। बिरामीका परिवारजनलाई त्यहाँ शल्यक्रिया हुन्छ भन्ने कुरामा विश्वास नै थिएन। उनीहरूले भने, ‘यहाँ कसरी अप्रेसन हुन्छ र? हामीले त सुनेकै छैनौं। बरु भारत नै लैजानुपर्छ कि?’
त्यो अविश्वास र डरका बीच गर्भवती र उनका परिवारलाई विश्वास दिलाउनु निकै चुनौतीपूर्ण थियो। डा. पवनको टिमले उनीहरूलाई धैर्यपूर्वक सम्झायो, भरोसा दिलायो। अन्ततः, डराई-डराई उनीहरू राजी भए।
सबै तयारीपछि शल्यक्रिया सुरु गरियो र केही बेरको मेहनतपछि चिकित्सकको टिमले शिशुलाई सकुशल निकाल्न सफल भयो। जब शल्यक्रिया कक्षमा नवजात शिशुको रुवाइ गुञ्जियो, तब परिवारको अनुहारमा छाएको डर खुशीमा बदलियो।
पाँच दिनको अस्पताल बसाइपछि आमा आफ्नो पहिलो सन्तानलाई काखमा च्यापेर मुस्कुराउँदै घर फर्किइन्। त्यो एक सफल शल्यक्रियाले सिंगो समुदायको विश्वास जित्यो। त्यसपछि दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रूपमा सिजरियन सेक्सन हुन थाल्यो।
सुरुमा ‘यहाँ के अप्रेसन हुन्छ होला र!’ भनेर पत्याउन नसक्ने मानिसहरू नै पछि उपचारका लागि त्यहीँ आउन थाले।
एनआईसीयू नै नभएको अस्पतालमा सात महिनाकी गर्भवतीले बच्चा जन्माएपछि...
त्यसैगरी, एक जना सुत्केरी आमा र समय नपुगी जन्मिएको बच्चालाई बचाएको प्रसंग पनि डा. पवन कहिल्यै भुल्दैनन्। यो केही महिना अघिको मात्रै कुरा हो, जतिबेला उनी अर्घाखाँची जिल्ला अस्पतालमा कार्यरत थिए।
सुत्केरी व्यथाले च्यापिएकी करिब १८ वर्षकी युवतीलाई अस्पताल ल्याइयो। तर, उनको गर्भ केवल सात महिनाको मात्र थियो। समय नपुगी जन्मने शिशुलाई एनआईसीयूको सघन हेरचाह आवश्यक पर्छ, जुन सुविधा अस्पतालमा थिएन। त्यसैले चिकित्सकको टिमले उनलाई अन्य सुविधासम्पन्न अस्पतालमा लैजान अनुरोध गर्यो।
तर, कमजोर आर्थिक अवस्था भएका ती युवतीका परिवारले बाहिर लैजान सक्ने अवस्था नभएको बताउँदै भने, ‘डाक्टर सा’ब, जे पर्छ यहीं बेहोरौंला, तपाईंहरूले नै बचाइदिनुपर्यो।’ परिवारको त्यो विवशता र विश्वासले डा. पवनको टिमलाई ठूलो जोखिम मोल्न बाध्य बनायो।
उनीहरूले अस्पतालमा उपलब्ध सीमित स्रोत-साधन, जस्तै इन्कुबेटर, आदिको व्यवस्थापन गरे। शल्यक्रिया नै नगरी सामान्य औषधिबाटै ती युवतीले बच्चा जन्माइन्। तर, सात महिनामा जन्मिएको शिशुको तौल जम्मा १२ सय ५० ग्राम मात्र थियो। यति कम तौलको शिशुलाई बचाउनु निकै चुनौतीपूर्ण थियो।
चिकित्सक र नर्सिङ टिमले अहोरात्र खटेर शिशुको हेरचाह गर्यो। उनीहरूको अथक प्रयास र मेहनतले रङ्ग ल्यायो, र शिशुको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो। करिब एक हप्ताको अस्पताल बसाइपछि आमा र शिशु दुवै स्वस्थ भई घर फर्किए।
स्रोत र साधनको अभावका बाबजुद ती दुई ज्यान बचाउन सफल हुँदाको त्यो क्षण सम्झँदा डा. पवनलाई आज पनि असीम आनन्द लाग्छ।
डाक्टरी रहर र दुर्गम सेवाको यात्रा
पर्साको वीरगञ्जमा जन्मेका डा. पवनले नरसिंह माविबाट २०६० सालमा एसएलसी र हरि खेतान बहुमुखी क्याम्पसबाट आईएस्सी उत्तीर्ण गरे।
सानैदेखिको डाक्टर बन्ने रहरले उनलाई एमबीबीएस अध्ययनतर्फ डोऱ्यायो। छनोट परीक्षामा सफल भएपछि उनी सन् २००८ मा अध्ययनका लागि बंगलादेश पुगे। बंगलादेशको शाहजलाल युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट उनले सन् २०१४ मा एमबीबीएस पूरा गरे।
नेपाल फर्किएपछि उनले चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा करिब दुई वर्ष मेडिकल अधिकृतका रूपमा काम गरे।
दुर्गममा सेवा गर्ने इच्छाले रोजे एमडीजीपी
आकस्मिक कक्षमा काम गर्दाको अनुभव र दुर्गम क्षेत्रमा सेवा गर्ने तीव्र इच्छाले उनलाई थप अध्ययनका लागि प्रेरित गर्यो। त्यसैले उनले सन् २०१७ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ‘जनरल प्राक्टिस एन्ड इमर्जेन्सी मेडिसिन (एमडीजीपी)’ मा स्नातकोत्तर शुरू गरे।
यो विषयले कुनै एक अङ्गको मात्र नभई बिरामीको समग्र स्वास्थ्य अवस्थाको उपचार र व्यवस्थापनमा जोड दिन्छ, जुन दुर्गम क्षेत्रका लागि निकै महत्त्वपूर्ण मानिन्छ। तराईमा हुर्केका उनलाई बिरामीको सम्पूर्ण उपचार गर्न सकिने यही विषय मन पर्यो।
सन् २०२० मा अध्ययन पूरा गरेपछि, सरकारी छात्रवृत्तिको करारअनुसार उनले दुई वर्ष दुर्गम क्षेत्रमा सेवा गर्नुपर्ने भयो। यसै क्रममा उनी म्याग्दीको बेनी अस्पताल पुगे र सन् २०२२ सम्म त्यहाँ सेवा गरे।
करार अवधि सकिएपछि पनि उनको दुर्गम यात्रा रोकिएन। उनी निक साइमन्स इन्स्टिच्युटमार्फत सुदूरपश्चिमको दोधारा चाँदनी पुगे। त्यहाँ दुई वर्ष काम गरेपछि हाल उनी विगत दश महिनादेखि अर्घाखाँची जिल्ला अस्पतालमा क्लिनिकल कोअर्डिनेटरका रूपमा कार्यरत छन्।
कात्तिक १, २०८२ शनिबार १७:११:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।