भुरुङ-तातोपानी : अन्नपूर्ण पदमार्गका पदयात्रीको थकान मेटाउने ‘रिफ्रेस सेन्टर’

भुरुङ-तातोपानी : अन्नपूर्ण पदमार्गका पदयात्रीको थकान मेटाउने ‘रिफ्रेस सेन्टर’

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ स्थित भुरुङ-तातोपानी कुण्ड, अन्नपूर्ण क्षेत्रको पदयात्रा र मुस्ताङ भ्रमणमा जाने पर्यटकहरूका लागि थकान मेटाउने प्रमुख ‘रिफ्रेस सेन्टर’ बनेको छ।

कालीगण्डकी नदी किनारमा रहेको यो प्राकृतिक तातोपानी कुण्डमा स्नान गरेर शारीरिक स्फूर्ति लिन आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ।

अन्नपूर्ण आधार शिविरको तीन दिने पदयात्रा सकेर फर्किएकी बुटवलकी स्मृति न्यौपानेले तातोपानीमा दुई घण्टा डुबेपछि यात्राको सबै थकान मेटिएको अनुभव सुनाइन्।

‘चिसो र यात्राको थकान तातोपानीमा स्नान गरेपछि हरायो,’ उनले भनिन्, ‘थकित शरीरमा स्फूर्ति भरियो।’

यहाँ स्नान गर्नेहरूले शारीरिक स्फूर्ति बढ्ने, थकान मेटिने, चोटपटकको दुखाइ कम हुने र शरीर सुन्निएको वा बज्रिएको समस्यामा समेत राहत मिल्ने अनुभव सुनाउँछन्। विशेषगरी चिसो हावापानीबाट आएका पर्यटकहरू यहाँ स्नान गरेर न्यानो महसुस गर्छन्।

पर्यटकीय यामको सुरुवातसँगै कालीगण्डकी नदी किनारको यो कुण्डमा भीड बढेको छ। कुण्डका सञ्चालक जितेन्द्र चोचाङ्गी पुनका अनुसार, पर्यटकीय याममा दैनिक ३०० देखि ५०० जनासम्मले स्नान गर्छन्। बेनी-जोमसोम सडक छेउमै रहेकाले यहाँ पुग्न सहज छ।

प्राकृतिक रूपमा निस्कने ५५ डिग्री सेल्सियसको तातोपानीलाई दुईवटा पोखरी र धाराहरूमा सङ्कलन गरिएको छ। बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहने कुण्डमा स्नानका लागि स्वदेशीलाई रु. ५० र विदेशीलाई रु. १५० शुल्क तोकिएको छ।

तातोपानी कुण्ड स्थानीय आयको एक महत्त्वपूर्ण स्रोत बनेको छ। गाउँपालिकाले कुण्ड सञ्चालनका लागि ठेक्कामा लगाउँदै आएको छ।

यसबाट प्राप्त आम्दानी सर्वोदय मावि र हिमालय आधारभूत विद्यालयका निजी स्रोतका शिक्षकको तलब, स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन, कुण्डको पूर्वाधार निर्माण तथा संरक्षण र कालीगण्डकी नदीको कटान नियन्त्रणजस्ता काममा खर्च गरिने गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए।

पर्यटकको चाप बढेसँगै तातोपानी बजारमा रहेका करिब २० वटा सुविधासम्पन्न होटलहरू भरिभराउ भएका छन्। होटल व्यवसायी अमृतमान शेरचनका अनुसार, यहाँ एकै पटकमा ५०० भन्दा बढी पर्यटक बस्न सक्ने क्षमता छ र हाल अधिकांश होटलहरू भरिएका छन्।

यस वर्ष बास बस्नेमा आधाभन्दा बढी पर्यटक अन्नपूर्ण आधार शिविर जाने र त्यहाँबाट फर्किएकाहरू छन्। पर्यटकहरू भुरुङ-तातोपानीमा झरेर जीपमार्फत पदमार्गको सुरुवाती बिन्दु हुमखोला पुगी पदयात्रा सुरु गर्ने गर्छन्।

कात्तिक १, २०८२ शनिबार १३:३०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।