अष्ट्रेलिया पठाउने बहानामा अपहरण, फिरौती माग्ने दुई भारतीय नागरिक काठमाडौंबाट पक्राउ

काठमाडौं : अष्ट्रेलिया पठाइदिने प्रलोभन देखाई एक भारतीय नागरिकलाई काठमाडौंमा बन्धक बनाएर फिरौती माग्ने दुई जना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले अपहरण तथा शरीर बन्धकको आरोपमा भारत, पञ्जाबका २४ वर्षीय परमप्रित सिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार, उनीहरूले भारतकै हरियाणाका २६ वर्षीय अङ्कित कुमारलाई नेपाल हुँदै अष्ट्रेलिया पठाइदिने झुटो आश्वासन दिएर काठमाडौं बोलाएका थिए।
काठमाडौं आएपछि उनीहरूले कुमारलाई सुन्धारास्थित ‘होटल न्यू जोमसोम’को कोठा नम्बर ६ मा बन्धक बनाई २० लाख रुपैयाँ फिरौती मागेका थिए।
पीडितलाई बन्धक बनाएको सूचनाका आधारमा प्रहरी टोलीले शुक्रबार उक्त होटलबाटै दुवै जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट विभिन्न कम्पनीका चार थान मोबाइलसमेत बरामद गरिएको छ।
प्रवक्ता भट्टराईले पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान अघि बढाइएको जानकारी दिए।
कात्तिक १, २०८२ शनिबार १२:५८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।