केही समय विजुली नआउनु लोडसेडिङ होइन, प्राविधिक समस्या हो : विद्युत प्राधिकरण

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले हाल देशका विभिन्न स्थानमा देखिइरहेको विद्युत अवरोध लोडसेडिङ नभई प्राविधिक समस्याका कारण भएको स्पष्ट पारेको छ।
साथै, प्राधिकरणले आगामी हिउँदमा विद्युतको बढ्दो माग व्यवस्थापन गर्न कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तयारी पूरा भएको जनाएको छ।
प्राधिकरणका अनुसार, नेपालका अधिकांश जलविद्युत आयोजनाहरू ‘रन अफ द रिभर’ प्रकृतिका भएकाले हिउँदमा नदीको बहाव घट्दा विद्युत उत्पादनमा स्वाभाविक रूपमा कमी आउँछ।
यस वर्ष नयाँ आयोजनाहरू थपिए पनि हिउँदको माग धान्न भारतबाट विद्युत आयात गर्नुपर्ने आवश्यकता देखिएकाले सोहीअनुसार तयारी गरिएको हो।
प्राविधिक समस्या, लोडसेडिङ होइन
प्राधिकरणका प्रवक्ता राजन ढकालले हाल देखिने ट्रिपिङ वा सेवामा हुने अवरोध लोडसेडिङ नभएको प्रष्ट पार्नुभयो ।
उनले भने, ‘यो केवल प्राविधिक कारणले केही समयका लागि लाइनमा आएको अवरोध हो, प्रणालीमा कुनै संरचनागत क्षति पुगेको छैन।’
ग्राहकहरूलाई भरपर्दो सेवा दिन प्राधिकरण निरन्तर प्रयासरत रहेको र जहाँ कमजोरी देखिए पनि सुधार गर्न तयार रहेको उनले बताए।
प्रसारण लाइन निर्माणमा भइरहेको ढिलाइका कारणबारे जानकारी दिँदै प्रवक्ता ढकालले वन तथा रुख कटानसम्बन्धी प्रक्रियागत चुनौती, स्थानीयको अवरोध र कठिन भौगोलिक अवस्था मुख्य कारण रहेको बताए।
‘अधिकांश आयोजना पहाडी भेगमा छन् भने खपत केन्द्र दक्षिणमा रहेकाले उत्तर–दक्षिण प्रसारण लाइनको निर्माण चुनौतीपूर्ण छ’, उनले थपे।
ग्राहक सुविधा र भविष्यको योजना
यसैबीच, प्राधिकरणले ग्राहकहरूलाई बक्यौता तिर्न सहजीकरण गर्ने उद्देश्यले २८ किस्तामा रकम तिर्न सकिने व्यवस्था गरेको छ।
असोज १२ र १३ गते सूचना जारी गर्दै प्राधिकरणले ग्राहकहरूलाई कार्तिक २ गतेभित्र बक्यौता तिर्न अनुरोध गरेको छ। आगामी दिनमा सेवालाई थप विश्वसनीय बनाउन प्राधिकरणले विभिन्न योजनाहरू अघि बढाएको छ।
‘कन्जुमर फोकस्ड’ कार्यक्रम लागू गर्ने, हेल्प डेस्क स्थापना गर्ने, प्रसारण तथा वितरण लाइन विस्तार गर्ने, ट्रान्सफर्मर थप्ने र ८-१० वर्षको योजनाबद्ध लगानीमार्फत प्रणालीलाई मजबुत बनाउने योजना रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले ग्राहकसँगको सम्बन्धलाई मजबुत राख्दै विद्युत प्रणाली सुदृढीकरणको काम निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।
कात्तिक १, २०८२ शनिबार १२:३०:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।