धादिङको रुबी भ्यालीमा स्काभेटर दुर्घटना, ३०० मिटर तल खस्दा प्युठानका चालकको मृत्यु

धादिङ : धादिङको विकट रुबी भ्याली गाउँपालिकामा जलविद्युत आयोजनाको सडक ट्रयाक खोल्ने क्रममा स्काभेटर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ।
करिब ३०० मिटर तल खोलामा खसेको स्काभेटरका चालक प्युठानका ३६ वर्षीय शिवबहादुर नगरकोटीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, घटना बिहीबार दिउँसो सवा ३ बजे रुबी भ्याली-४, हिम्दुङमा निर्माणाधीन जलशक्ति हाइड्रोपावरको सडक बनाउने क्रममा भएको हो।
नयाँ ट्रयाक खोल्दै गरेको स्काभेटर अनियन्त्रित भई ३०० मिटर तल इलेप तातोपानी खोलामा खसेको थियो।
घटनाको खबर प्राप्त हुनासाथ सेर्तुङ प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको थियो। तर, घटनास्थल अत्यन्त विकट र चौकीबाट करिब ३ घण्टाको पैदल दूरीमा भएकाले टोलीलाई पुग्न समय लागेको थियो।
साँझपख नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली घटनास्थल नजिक पुगे पनि खोला तर्न नसक्दा उद्धार कार्य प्रभावित भएको थियो।
आइतबार जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेपछि चालक नगरकोटीलाई खोलाको छेउमा मृत अवस्थामा फेला पारेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेको छ।
मृतक नगरकोटी प्युठानको झिम्रुक गाउँपालिका-६ का स्थायी बासिन्दा हुन्। उनको शव पोस्टमार्टमका लागि सोमबार राति दुई बजे जिल्ला अस्पताल धादिङबेशी ल्याइएको प्रहरीले जानकारी दिएको छ।
कात्तिक १, २०८२ शनिबार १२:०७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।