पाकिस्तानी आक्रमणमा तीन क्रिकेटर मारिएपछि बोले राशिद, गुलबदीन र नाबी

एजेन्सी : अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले पाकिस्तानबाट भएको हमलामा आफ्ना तीन खेलाडीको मृत्यु भएको जनाएको छ।
यस घटनाको विरोधमा अफगानिस्तानका शीर्ष खेलाडीहरूले कडा प्रतिक्रिया दिएका छन् भने बोर्डले पाकिस्तानसँगको त्रिकोणीय टी-२० शृङ्खलाबाट नाम फिर्ता लिने निर्णय गरेको छ।
अफगानिस्तानका स्टार खेलाडी राशिद खानले पाकिस्तानी हवाई हमलालाई त्रासदीको संज्ञा दिएका छन्।
उनले भनेका छन्, ‘नागरिकहरूलाई निशाना बनाउनु पूर्ण रूपमा अनैतिक र बर्बर हो। यस्ता गैरकानुनी र अन्यायपूर्ण कार्यहरू मानवअधिकारको उल्लंघन हुन्।’
राशिदले एसीबीको पाकिस्तानसँगको शृङ्खलाबाट पछि हट्ने निर्णयको समर्थन गरेको बताए।
त्यस्तै, अर्का खेलाडी गुलबदीन नायबले यस हमलालाई पाकिस्तानी सेनाको क्रूर कार्य भनेका छन्। उनले भने, ‘यो हाम्रा जनता, गौरव र स्वतन्त्रतामाथिको हमला हो। तर यसले अफगानिस्तानको भावनालाई कहिल्यै तोड्न सक्दैन।’
बीबीसी पश्तोका अनुसार, मोहम्मद नबीले भने, ‘यो घटना पक्तिकाका लागि मात्र होइन, सम्पूर्ण क्रिकेट परिवार र अफगानिस्तानका लागि अत्यन्त दुःखको कुरा हो। हामी उनीहरूको बलिदान कहिल्यै भुल्नेछैनौं।’
अफगानिस्तान क्रिकेट बोर्डका अनुसार, पाकिस्तानी हमलामा तीन खेलाडी- कबीर, सिबगतुल्लाह र हारूनका साथै अन्य पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ।
बोर्डले भनेको छ, ‘खेलाडीहरूको सम्मान र यो दुःखद घटनाको प्रतिक्रियास्वरूप अफगानिस्तान क्रिकेट बोर्डले आगामी नोभेम्बर महिनाको अन्त्यमा पाकिस्तानसँग हुने त्रिकोणीय टी-२० शृङ्खलाबाट पछि हट्ने निर्णय लिएको छ।’
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
यो टी-२० शृङ्खला पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच हुने तय थियो। यसका खेलहरू नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिन्डीमा हुने तालिका थियो।
कात्तिक १, २०८२ शनिबार १०:२७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।