पब्जी शैलीमा कुशल मल्लको सेल्फ-ट्रोल: ‘६ किल, ३३ ड्यामेज’

पब्जी शैलीमा कुशल मल्लको सेल्फ-ट्रोल: ‘६ किल, ३३ ड्यामेज’

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर कुशल मल्लले टी-२० विश्वकप छनोट प्रतियोगितामा आफ्नो प्रदर्शनलाई लिएर रमाइलो पारामा आफैँलाई ट्रोल गरेका छन्।

नेपाल च्याम्पियन बनेर विश्वकपमा छनोट भएको खुसियालीमाझ उनले चर्चित अनलाइन गेम ‘पब्जी’को भाषा प्रयोग गर्दै आफ्नो प्रदर्शनको मूल्यांकन गरेका हुन्।

सोमबार आफ्नो इन्स्टाग्राम स्टोरीमा उपाधिसँगको तस्बिर राख्दै मल्लले ‘३३ ड्यामेज’ र ‘६ किल’ लेखेका छन्।

यहाँ ‘३३ ड्यामेज’ले उनले प्रतियोगितामा बनाएको कुल ३३ रनलाई व्यंग्यात्मक रूपमा संकेत गर्दछ भने ‘६ किल’ले टोलीले जितेका ६ खेललाई जनाएको छ।

नेपालले आईसीसी टी-२० विश्वकप २०२६ को एसिया तथा पूर्वी एसिया-प्रशान्त छनोटमा ६ मध्ये ६ वटै खेल जित्दै उपाधि उचालेको थियो।

तर, व्यक्तिगत रूपमा कुशल मल्लका लागि भने यो प्रतियोगिता बिर्सनलायक रह्यो। उनले खेलेका पाँच खेलमा जम्मा ३३ रन मात्र जोड्न सके।

उनले कुवेत र जापानविरुद्ध ४-४, युएईविरुद्ध १०, कतारविरुद्ध ८ र ओमानविरुद्ध ७ रन बनाएका थिए। सामोआसँगको फाइनल खेलमा उनलाई विश्राम दिइएको थियो।

एक समय टोलीका नियमित सदस्य रहेका मल्ललाई मुख्य प्रशिक्षक स्टुअर्ट लले केही समय टोलीबाहिर राखेका थिए। स्कटल्यान्ड टुरमा उनी टोलीमा थिएनन्।

तर, अस्ट्रेलियामा भएको टप इन्ड टी२० प्रतियोगितामा उनले टोलीमा पुनरागमन गरेका थिए। विश्वकप जस्तो ठूलो प्रतियोगिताअघि उनको यो प्रदर्शनले टोलीमा उनको स्थानबारे फेरि प्रश्न उठाएको छ।

यद्यपि, आफ्नो कमजोर प्रदर्शनलाई आफैँले व्यंग्य गर्नुले उनको आत्म-समीक्षाको भावनालाई देखाउँछ। समर्थकहरूले उनको यो शैलीलाई मन पराउँदै आगामी दिनमा उत्कृष्ट पुनरागमनको अपेक्षा गरेका छन्।

कात्तिक १, २०८२ शनिबार १०:०९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।