वायुसेवा निगमको ग्वाङ्झाओ उडान सफल, ५३ करोड ऋण किस्ता भुक्तानी

वायुसेवा निगमको ग्वाङ्झाओ उडान सफल, ५३ करोड ऋण किस्ता भुक्तानी

काठमाडौं : नेपाल वायुसेवा निगमले एकै दिन दुईवटा सकारात्मक वित्तीय र व्यावसायिक गतिविधि सार्वजनिक गरेको छ।

निगमले काठमाडौं-ग्वाङ्झाओको नयाँ रुटमा उत्साहजनक व्यावसायिक उडान सुरु गरेको छ भने जहाज खरिदको ऋणबापत ५३ करोड रुपैयाँभन्दा बढीको किस्ता भुक्तानी गरेको छ।

निगमले जारी गरेको विज्ञप्तिअनुसार, १६ अक्टोबर २०२५ (असोज ३०) मा काठमाडौंबाट ग्वाङ्झाओका लागि भएको पहिलो व्यावसायिक उडानमा १३८ जना यात्रु सहभागी थिए। जसमा २७ नेपाली, २९ चिनियाँ, ६१ भारतीय र अन्य २२ देशका १११ विदेशी नागरिक थिए।

त्यसैगरी, १७ अक्टोबर (असोज ३१) मा ग्वाङ्झाओबाट काठमाडौंका लागि भएको फिर्ती उडानमा ७८ जना यात्रु थिए। निगमका अनुसार आगामी २३ अक्टोबरको काठमाडौं-ग्वाङ्झाओ उडानको बुकिङ पनि पूर्ण भइसकेको छ, जसले नयाँ गन्तव्यमा निगमको बलियो सुरुवातलाई संकेत गर्दछ।

यो रुट वर्तमान व्यवस्थापनले साउदी अरेबियाको दमामपछि सुरु गरेको दोस्रो नयाँ अन्तर्राष्ट्रिय गन्तव्य हो। निगमले नयाँ सेक्टरको बजार प्रवर्द्धनका लागि ट्राभल एजेन्सी, सञ्चार जगत र अन्य सरोकारवाला निकायसँग सहकार्यको अपेक्षा गरेको छ।

जहाज खरिदको ५३ करोड किस्ता भुक्तानी
अर्को एक विज्ञप्तिमार्फत निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका न्यारोबडी र वाइडबडी जहाजको ऋणबापत कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ।

यो रकममा दुई न्यारोबडी जहाजको असोज मसान्तसम्मको किस्ता पूर्ण रूपमा र दुई वाइडबडी जहाजको किस्ता आंशिक रूपमा भुक्तानी गरिएको छ।

वर्तमान व्यवस्थापनले जिम्मेवारी सम्हालेपछि हालसम्म जहाज खरिदको ऋणबापत कुल रु. ८ अर्ब ४५ करोड २४ लाख रुपैयाँभन्दा बढी किस्ता रकम भुक्तानी गरिसकेको निगमले जनाएको छ।

साथै, कोभिड-१९ महामारीले व्यापारमा पारेको प्रतिकूल असरका कारण सो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनाल छुटका लागि सञ्चय कोष र लगानी कोषलाई अनुरोध गरिएको निगमले बताएको छ।

ऋण भुक्तानीलाई सहजीकरण गर्न किस्ता संख्या बढाउने विषयमा पनि सकारात्मक छलफल भइरहेको र यसका लागि सरकारबाट आवश्यक सहयोगको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक १, २०८२ शनिबार ०९:५८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।