च्याम्पियन बनेपछि कप्तान रोहितको ठट्टा- ‘अब हार्ट अट्याक हुने अवस्था रहेन’

काठमाडौं : उपाधि जितेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले प्रतियोगिताका सुरुवाती खेलहरूमा भोगेको तनावलाई ठट्यौली पारामा सम्झिएका छन्।
‘पछिल्ला दुई खेल सजिला भए, अब हार्ट अट्याक हुने अवस्था रहेन’, समोआसँगको खेलपछिको पोस्ट म्याच प्रिजेन्टेसनमा खुसी साट्दै उनले भने।
युएई र कतारसँगको खेलमा नेपाली टोलीले निकै संघर्षपूर्ण तथा रोमाञ्चक जित निकालेको थियो। युएईसँगको खेलमा १ रन र कतारसँग ५ रनको जित हात पारेको थियो।
कप्तान पौडेलले प्रतियोगितामा टोलीको प्रदर्शनको समीक्षा गर्दै ब्याटिङमा केही संघर्ष भए पनि बलिङ र फिल्डिङमा टोलीले उत्कृष्ट पुनरागमन गरेको बताए।
‘यो सफलता कुनै एक खेलाडीको नभएर सम्पूर्ण टोलीको हो। हरेक सदस्यले फरक-फरक खेलमा जिम्मेवारीपूर्वक प्रदर्शन गरेका छन्’, उनले टोलीको एकताको प्रशंसा गरे।
उनले गुल्शन झा, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख लगायत सम्पूर्ण खेलाडीले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गरे।
आगामी विश्वकपलाई लिएर उत्साहित देखिएका कप्तान पौडेलले भारत र अस्ट्रेलिया जस्ता विश्वका ठूला टोलीहरूसँग खेल्ने इच्छा रहेको बताए।
‘हामी भारतमा विश्वकप खेल्न जाँदैछौं र त्यहाँ राम्रो क्रिकेट खेलेर नेपाललाई गौरवान्वित बनाउन चाहन्छौं’, उनले भने।
टोलीको सफलताको श्रेय प्रशिक्षक स्टुअर्ट ल लगायतका सपोर्ट स्टाफलाई दिँदै पौडेलले भने, ‘उहाँहरूले हामीलाई मैदानमा खेल्ने स्वतन्त्रता दिनुभयो र सधैं हाम्रो समर्थन गर्नुभयो। त्यसका लागि सम्पूर्ण टोलीको तर्फबाट धन्यवाद दिन चाहन्छु।’
उनले नेपाली क्रिकेट समर्थकहरूलाई टोलीको सबैभन्दा ठूलो प्रेरणाको स्रोतको रूपमा चित्रण गरे।
‘प्रशंसकहरू हाम्रो सबैभन्दा ठूलो प्रेरणा हुन्। जब टोली दबाबमा हुन्छ, उहाँहरूको साथले हामीलाई अतिरिक्त ऊर्जा दिन्छ। हामी उहाँहरूप्रति सधैं आभारी छौँ’,पौडेलले भने।
कात्तिक १, २०८२ शनिबार ०९:१९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।