कतारविरुद्ध सन्दीपको बलमा गरेको स्टम्पिङ मेरो करियरकै उत्कृष्ट हो : आसिफ शेख

कतारविरुद्ध सन्दीपको बलमा गरेको स्टम्पिङ मेरो करियरकै उत्कृष्ट हो : आसिफ शेख

काठमाडौं : नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्र छनोटको उपाधि जित्यो।

फाइनल खेलमा सामोआलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताभर अपराजित रहँदै च्याम्पियन बन्यो।

नेपालको जितमा कीर्तिमानी प्रदर्शन गरेका विकेटकिपर-ब्याट्सम्यान आसिफ शेख ‘प्लेयर अफ द म्याच’ घोषित भए।

फाइनल खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा बोल्दै सामोआका कप्तान कालेब जस्मातले नेपाली टोलीको प्रदर्शन उत्कृष्ट रहेको स्वीकारे।

उनले भने, ‘हामीले यो प्रतियोगिताबाट धेरै कुरा सिक्यौँ। हाम्रा केही खेलाडी घाइते भए पनि सबैले राम्रो संघर्ष गरे। नेपाली समर्थकहरूको उत्साह साँच्चै अविश्वसनीय थियो।’

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका आसिफ शेख ‘प्लेयर अफ द म्याच’ बने। उनले ४१ बलमा ७ चौका र ४ छक्काको मद्दतले आफ्नो टी-२० अन्तर्राष्ट्रिय करियरकै उत्कृष्ट ६९ रन बनाएका थिए।

पुरस्कार ग्रहण गर्दै आसिफले भने, ‘च्याम्पियन बनेर ट्रफी जित्दा निकै खुसी लागेको छ। यो सम्पूर्ण टोलीको मिहिनेतको फल हो।’

प्रतियोगितामा सन्दीप लामिछानेको बलमा गरेको एक अविश्वसनीय स्टम्पिङबारे सोधिएको प्रश्नमा उनले भने, ‘सन्दीपले मलाई छिटो बल फाल्छु भनेका थिए, त्यसैले म लेग साइडमा तयार थिएँ। सायद यो मेरो करियरकै उत्कृष्ट स्टम्पिङ हो।’

आफ्ना दाइ आरिफ शेख पनि टोलीमा रहेको र विश्वकप खेल्न जान लागेकोमा परिवार निकै खुसी रहेको उनले बताए।

‘हामी दुवै राष्ट्रिय टोलीबाट खेलेको देख्दा परिवार गर्व गर्छ। अब विश्वकपमा उहाँहरूलाई प्रत्यक्ष खेल हेर्न मैदानमै लैजाने इच्छा छ’, उनले भने।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आसिफलाई ‘प्लेयर अफ द म्याच’को पुरस्कार प्रदान गरेका थिए।

कात्तिक १, २०८२ शनिबार ०९:०७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।