पाकिस्तानी हमलामा तीन क्रिकेटर मारिएपछि अफगानिस्तानले त्रिकोणीय टी-२० शृङ्खला नखेल्ने

एजेन्सी : अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले पक्तिका प्रान्तमा भएको पाकिस्तानी हवाई हमलामा आफ्ना तीन खेलाडी मारिएको जनाएको छ। एसीबीले एक विज्ञप्ति जारी गर्दै उक्त हमलाको निन्दा गरेको छ।
यस घटनाको विरोधमा अफगानिस्तानले आगामी नोभेम्बरमा पाकिस्तानसँग हुने तय भएको त्रिकोणीय टी-२० शृङ्खलाबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको छ।
एसीबीले मारिएका तीनै खेलाडीको तस्बिर सार्वजनिक गर्दै भनेको छ, ‘शुक्रबार साँझ पाकिस्तानबाट भएको हमलामा यी खेलाडीहरूलाई लक्षित गरिएको थियो।’
अफगानिस्तान क्रिकेट बोर्डका अनुसार, हमलामा खेलाडीहरू कबीर, सिबगतुल्लाह र हारूनका साथै अन्य पाँच जना सर्वसाधारणको पनि मृत्यु भएको छ।
बोर्डले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘खेलाडीहरूको सम्मान र यो दुःखद घटनाको प्रतिक्रियास्वरूप अफगानिस्तान क्रिकेट बोर्डले आगामी नोभेम्बर महिनाको अन्त्यमा पाकिस्तानसँग हुने त्रिकोणीय टी-२० शृङ्खलाबाट पछि हट्ने निर्णय गरेको छ।’
यो टी-२० शृङ्खला पाकिस्तान, अफगानिस्तान र श्रीलंकाबीच हुने तय थियो। यसका खेलहरू नोभेम्बर १७ देखि २९ सम्म लाहोर र रावलपिन्डीमा हुने तालिका थियो।
यस विषयमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
कात्तिक १, २०८२ शनिबार ०८:४१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।