तिहारको मुखमा पश्चिमी वायुको प्रभाव, भाइटीकाको दिन वर्षा र चिसो बढ्ने पूर्वानुमान

काठमाडौं : यस वर्षको तिहारमा मौसमले पूर्ण रूपमा साथ नदिने संकेत देखिएको छ।
मनसुन सकिएपछिको पहिलो पश्चिमी वायुको प्रभावले तिहारको मुख्य दिनहरूमा देशका केही स्थानमा हल्का वर्षा गराउने र काठमाडौं उपत्यकामा चिसो बढाउने सम्भावना देखिएको हो।
त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार, आउँदो हप्ताको बुधबार र बिहीबार (कार्तिक ५ र ६ गते) यस प्रणालीको प्रभाव देखिनेछ। यो पश्चिमी वायु कमजोर प्रकृतिको भए पनि यसले केही स्थानमा छिटपुट वर्षा गराउन सक्ने उनले बताए।
यस वर्षको भाइटीका बिहीबार परेको छ, जुन दिन वर्षाको पूर्वानुमान गरिएको छ। त्यसको अघिल्लो दिन (बुधबार) गाईपूजा र गोवर्द्धन पूजा पर्छ। तिहार मनाउन टीका लगाउन तथा आफन्त भेटघाटका लागि मानिसहरूको ठूलो संख्यामा आवतजावत हुने भएकाले बुधबार र बिहीबारको सम्भावित वर्षाले जनजीवन प्रभावित हुन सक्ने देखिन्छ।
डा. पोखरेलले भने, ‘पश्चिमी वायु कमजोर नै भए पनि यसले काठमाडौंमा चिसो बढाउने सम्भावना बढी छ। केही पहाडी भेगमा हल्का वर्षा पनि हुन सक्छ।’
यो पूर्वानुमानले किसानहरूलाई समेत चिन्तित बनाएको छ। देशका धेरै ठाउँमा धान काट्न र भित्र्याउन ठिक्क भएको अवस्थामा वर्षा भएमा धानबालीमा क्षति पुग्ने जोखिम बढेको छ।
मौसमविद्को यो पूर्वानुमानसँगै सर्वसाधारणलाई तिहारको समयमा यात्रा गर्दा मौसमको अवस्थाबारे जानकारी लिन र चिसोबाट बच्न न्यानो कपडाको व्यवस्था गर्न सुझाव दिइएको छ।
कात्तिक १, २०८२ शनिबार ०७:५२:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।