कैलालीका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

कैलालीका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सुदूरपश्चिम : वडादसैँको समयमा परेको अविरल वर्षाले धान काट्न नपाएका कैलालीका किसानहरू अहिले खेतमा भ्याइनभ्याई व्यस्त छन्। दिपावली नजिकिँदै गर्दा पहेँलपुर बनेका खेतहरूमा किसानहरू बिहानदेखि साँझसम्म धान काट्दै, भित्र्याउँदै व्यस्त देखिन्छन्।

धनगढी उपमहानगरपालिका–१३ का किसान चेतराज भट्ट भन्छन्, “दुई हप्ता अघि नै धान पाकिसकेको थियो, तर मौसम बिग्रँदा काट्न पाएका थिएनौँ। अहिले मौसम खुलेपछि बल्ल खेतमा पस्न पाएका छौँ।” उनका अनुसार यस वर्ष जिल्लामा धानको उत्पादन राम्रो भएको छ। “केही ठाउँमा रोग र कीराको असर भए पनि समग्रमा बाली राम्रो आएको छ,” उनले थपे।

तर दशैँको समयमा परेको वर्षाले कैलाली र आसपासका जिल्लाका किसानको काटिसकेको धान भिजेर क्षति पुगेको थियो। किसानहरूको मुख्य आम्दानी यही धानबाली हो-घरका लागि भण्डारण गरेर बाँकी व्यापारीलाई बिक्री गरी चाडपर्वका खर्च जुटाउने परम्परा छ।

कञ्चनपुरको पुरैना गाउँका किसान केशव पाठकले भने, “धान राम्रो भए पनि मूल्य राम्रो पाइँदैन। व्यापारीले नयाँ धानको मूल्य मुस्किलले प्रतिक्विन्टल २,६०० रुपैयाँ तोक्छन्। यस्तो मूल्यमा चाडपर्व चलाउन गाह्रो पर्छ।”

सुदूरपश्चिममा दशैँ र तिहार जस्ता पर्वमा नयाँ धानको चामलबाट बनाइने ‘न्वागी’, ‘माणा’ र ‘सिरौला’ जस्ता परिकारहरू खाने परम्परा छ। यी परिकार बनाउँदा देवीदेवतालाई पहिले नै नयाँ अन्न अर्पण गर्ने चलन छ।

यहाँ ‘देलीबालो’ लगाउने परम्परा पनि प्रचलित छ - नयाँ बाला काटेर घरको दैलोमा र कूलदेवताका मन्दिरमा गाईको गोबरले टाँस्ने। यसरी देलीबालो लगाउँदा अन्न उत्पादन बढ्ने र भण्डारण सुरक्षित रहने विश्वास गरिन्छ।

कृषि विकास निर्देशनालय सुदूरपश्चिमका अनुसार, प्रदेशमा एक लाख ८१ हजार ३९६ हेक्टरमा बर्खे धान खेती हुन्छ। सबैभन्दा बढी खेती कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर क्षेत्रमा हुने गरेको छ। बाँकी ६० हजार हेक्टरभन्दा बढी खेत डोटी, डडेलधुरा, बाजुरा, बैतडी, बझाङ र दार्चुला जिल्लामा छन्।

अघिल्ला वर्षको तुलनामा हाल धानको उत्पादन र उत्पादकत्व दुबै बढ्दो क्रममा रहेको कृषि प्राविधिकहरूको भनाइ छ। किसानहरूले आधुनिक कृषि औजारको प्रयोग बढाएपछि खेत जोत्न, बाली काट्न र झार्न सहज भएको बताउँछन्। आधुनिक प्रविधिले समय बचत, श्रम घटाउने र उत्पादन बढाउने अनुभव उनीहरूले साटेका छन्।

असोज ३१, २०८२ शुक्रबार २१:१७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।