एनसेलको सीईओमा माइकल फोले नियुक्त, कार्तिक १५ देखि कार्यभार सम्हाल्ने

एनसेलको सीईओमा माइकल फोले नियुक्त, कार्तिक १५ देखि कार्यभार सम्हाल्ने

काठमाडौं : दूरसञ्चार कम्पनी एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन्। उनको कार्यकाल आगामी कार्तिक १५ गतेदेखि औपचारिक रूपमा सुरु हुनेछ।

यससँगै हाल कार्यवाहक सीईओका रूपमा जिम्मेवारी सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को भूमिकालाई निरन्तरता दिने भएका छन्।

दुई दशकभन्दा बढी समयदेखि दूरसञ्चार क्षेत्रको नेतृत्वमा रहेका फोलेले यसअघि विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूमा नेतृत्व गरेका छन्। उनले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखका रूपमा सात वटा अफ्रिकी बजारहरूको सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। त्यसभन्दा अघि उनले टेलिनोर पाकिस्तान (टीपी)का सीईओका रूपमा कठिन व्यवसायिक परिस्थितिमा पनि कम्पनीलाई अग्रणी वृद्धि, नाफा र कर्मचारी संलग्नतामा उल्लेखनीय सफलता दिलाएका थिए।

उनका अघिल्ला नेतृत्व अनुभवमा ग्रामीणफोन (बंगलादेश) र टेलिनोर बुल्गेरियाका सीईओका रूपमा गरेको काम उल्लेखनीय छ, जहाँ उनले कम्पनीमा ठूला व्यवसायिक रूपान्तरण गर्दै ग्राहक संख्या ७ करोडभन्दा माथि पुर्याएका र ईबिट्डा ६० प्रतिशतभन्दा बढी वृद्धि गराएका थिए।

नियुक्तिपछि आफ्नो धारणा व्यक्त गर्दै फोलेले भने, ‘काठमाडौंमा एनसेलको नेतृत्व जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु। एनसेल नेपालको डिजिटल रूपान्तरण र आर्थिक प्रतिस्पर्धात्मकता बढाउने एउटा महत्वपूर्ण पूर्वाधार हो। आजको एआई र सामाजिक सञ्जालद्वारा संचालित डिजिटल युगमा, दूरसञ्चार कम्पनीहरू सेवा प्रदायक मात्रै होइनन्। हामी समाजको डिजिटल संरचना बुन्ने शक्ति हौं। यसैले, देशको सेवा गर्न, प्रविधिलाई सुदृढ बनाउने र आगामी पुस्तालाई सशक्त बनाउन म प्रतिबद्ध छु।’ 

असोज ३१, २०८२ शुक्रबार २१:०३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।