तिलिचो बेस क्याम्पमा अब फोरजी नेटवर्क, पर्यटन र उद्धारमा सहजता हुने अपेक्षा

तिलिचो बेस क्याम्पमा अब फोरजी नेटवर्क, पर्यटन र उद्धारमा सहजता हुने अपेक्षा

काठमाडौं : मनाङको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमले फोरजी सेवा सुरु गरेको छ। ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मनाङमा आजदेखि फोरजी नेटवर्क सञ्चालनमा आएपछि स्थानीय र पर्यटक दुवैलाई ठूलो सहजता हुने भएको छ।

फोरजी सेवा शुभारम्भपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहेका टेलिकमका फिल्ड इञ्जिनियर निरज गुप्तासँग भिडियो कलमार्फत कुराकानी गर्दै सेवा सुरु भएको जानकारी लिए। मन्त्री खरेलले तिलिचोमा फोरजी सुरु हुनु नेपालको दुर्गम क्षेत्रमा प्रविधिको पहुँच विस्तारको महत्त्वपूर्ण कदम भएको बताउँदै नेपाल टेलिकम, जनप्रतिनिधि र स्थानीय समुदायलाई धन्यवाद दिए।

“सरकारको लक्ष्य देशका दुर्गम क्षेत्रमा पनि भ्वाइस र डेटा सेवा पुर्याउने हो,” मन्त्री खरेलले भने, “तिलिचोमा सेवा सुरु भएपछि स्थानीय र पर्यटकलाई ठूलो सहयोग पुग्नेछ। अब संचार, डिजिटल पेमेन्ट र आपतकालीन उद्धार कार्यमा सहजता आउनेछ।”

इञ्जिनियर गुप्ताले पनि फोरजी सेवाले स्थानीय जीवनशैलीमा परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै भने, “पहिले नेटवर्क नहुँदा सानो कुरा गर्न पनि टाढा जानुपर्ने बाध्यता थियो, अब डिजिटल भुक्तानीदेखि परिवारसँग सम्पर्क राख्न सजिलो हुनेछ।”

तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर उचाइमा रहेको विश्वकै उच्चतम तालहरूमध्ये एक हो। अन्नपूर्ण क्षेत्रमा पर्ने यो ताल पुग्न करिब ४,३५० मिटरको उचाइमा अवस्थित बेस क्याम्प हुँदै पुग्नुपर्छ।

नेपाल टेलिकमले तिलिचो बेस क्याम्पमा नयाँ बिटीएस टावर स्थापना गरी माइक्रोवेभ प्रविधिमार्फत फोरजी र टुजी सेवा सञ्चालनमा ल्याएको हो। यससँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा, पर्यटक र व्यवसायीहरू अब सहज रूपमा सञ्चार सम्पर्क गर्न र डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुन सक्ने भएका छन्।

उच्च उचाइ र प्रतिकूल मौसमको कारणले पहिला सम्पर्कमा कठिनाइ हुने यो क्षेत्रमा अब स्वास्थ्य समस्या वा दुर्घटनाका बेला उद्धार कार्यमा पनि टेलिकमको फोरजी सेवा महत्त्वपूर्ण सहयोगी हुने स्थानीयको विश्वास छ।

असोज ३१, २०८२ शुक्रबार २०:४९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।