असफलताको लाज छोप्न सेनाको पत्रकार सम्मेलन, मानवीय क्षति रोक्न बल प्रयोग नगरेको तर्क

असफलताको लाज छोप्न सेनाको पत्रकार सम्मेलन, मानवीय क्षति रोक्न बल प्रयोग नगरेको तर्क

काठमाडौँ : ‘जेनजी आन्दोलन’को क्रममा सिंहदरबारसहित सार्वजनिक सम्पत्ति जोगाउन नसकेको भन्दै आलोचनाको घेरामा परेको नेपाली सेनाले शुक्रबार पहिलोपटक आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गर्यो। 

आन्दोलनको आव्हानकर्ता नभए पनि सुधन गुरूङलाई जेनजी नेताको रूपमा अगाडि सार्नु, सरकार गठनबारेको छलफलमा राष्ट्रपतीलाई इन्गेज नगराई आफैं संलग्न हुनु अनि १२ घण्टा देश कानुनविहीन हुँदा निष्क्रिय बस्नुको कारण भने खुलाइएन। सेनाले आन्दोलनका बेला ‘मानवीय क्षति रोक्न’ बल प्रयोग नगर्ने निर्णय नै वास्तविक जिम्मेवारी र विवेकपूर्ण कदम रहेको भन्दै आफ्नो बचाउ गर्यो।

जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले भने, ‘सिंहदरबारभित्र प्रवेश गरेको भिड अत्यन्त आक्रोशित थियो। त्यसबेला ठूलो मानवीय क्षतिको माध्यमबाट बाहेक नरोकिने अवस्था स्पष्ट देखिन्थ्यो। त्यसैले सेनाले जनधनको सुरक्षा नै प्राथमिक ठान्यो।’ 

भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा सरकारी, निजी र व्यापारिक गरी एक हजार ५८० भवनमा तोडफोड र आगजनी भएका थिए। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवास र मन्त्री क्वार्टरहरूमा समेत आगजनी भएपछि ‘सेनाले किन हस्तक्षेप गरेन?’ भन्ने प्रश्न उठ्दै आएको थियो।

तर सेनाले आफू ‘निष्क्रिय नभई संयमित’ रहेको दाबी गरेको छ। थापाका अनुसार अराजक भिडलाई रोक्न ४६ राउन्ड हवाई फायर गरिएको र दुईपटक मूल गेटबाट छिरेका प्रदर्शनकारीलाई सम्झाएर फर्काउने प्रयास गरिएको थियो। ‘तर जब भिड अत्यन्त उग्र र नियन्त्रणबाहिर पुग्यो, त्यतिबेला प्रत्यक्ष बल प्रयोग गर्दा ठूलो जनधनको क्षति हुने निश्चित थियो,’ उनले स्पष्ट पारे।

थापाले सेनाको प्राथमिकता सधैं मानवीय सुरक्षालाई भौतिक सुरक्षाभन्दा माथि राख्ने रहेको दोहोर्याए। ‘राष्ट्रका महत्वपूर्ण संरचनामा क्षति हुनु दुःखद छ, तर सेनाको अटल विश्वास जनधनको सुरक्षा र राष्ट्रिय एकता नै हो,’ उनले भने।

 उनले जेनजी आन्दोलन ‘अचानक इरप्सन’का रूपमा नेपालमा देखा परेको भन्दै, तत्कालीन परिस्थितिमा सेनाले वस्तुपरक मूल्यांकनका आधारमा काम गरेको बताए। ‘सेनाले आवश्यक पहलकदमी लियो, तर विवेकपूर्ण र राष्ट्रहितमुखी सीमाभित्रै रहेर,’ उनले भने।

थापाले नेपाली सेना अन्य सुरक्षा निकायहरूसँग निरन्तर समन्वयमा रहेको जानकारी पनि दिए। ‘प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग काँधमा काँध मिलाएर काम भइरहेको छ,’ उनले भने।

भूकम्प, महामारीदेखि विपद् व्यवस्थापनसम्मका अवस्थाहरूमा सेनाको भूमिका बहुआयामिक रहेको बताउँदै उनले भने ‘संविधानले दिएको जिम्मेवारी र समयले दिएको चुनौती दुबै आत्मसात् गर्दै नेपाली सेना सुझबुझका साथ अघि बढिरहेको छ।’ 

आजको पत्रकार सम्मेलनमा सेनाले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ७६ जनामध्ये २२ जना मात्रै प्रदर्शनकारी रहेको बतायो।

सेनाका अनुसार बाँकी मृतकमध्ये तीन जना प्रहरी, १० कैदी र अन्य ४१ जना छन्। सेनाका अनुसार  टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान खुल्न सकेको छैन।

आन्दोलनका क्रममा ६८८ सरकारी कार्यालय,२५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ।

यसैगरी ९७८ थान हातहतियार लुटिएकोमा ५८६ वटा फिर्ता गराइएको सेनाले जनाएको छ । आन्दोलनका क्रममा १५ हजार ५८८ जना कैदीबन्दी भागेकोमा हालसम्म ८ हजार ७९९ जनालाई पुनः नियन्त्रणमा लिइसकेको छ।

यसैगरी नेपाली सेनाले जेनजी प्रदर्शनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जिलेटिन र पेट्रोल लिएका प्रदर्शनकारीलाई सेनाले रोकेको सहायक रथी थापाको दाबी थियो।

असोज ३१, २०८२ शुक्रबार २०:१८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।