विश्वकप छनोट प्रतियोगितामा च्याम्पियन बन्यो नेपाल

काठमाडौं : नेपालले आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गतको एसिया-ईस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिताको उपाधि हात पारेको छ।
सुपर-६ को अन्तिम खेलमा समोआलाई १२४ रनले पराजित गर्दै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो। यसअघि नै विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेको नेपालले समोआमाथि शानदार जित निकाल्दै उपाधि जितेको हो।
समूह चरणमा नेपालले कुवेत र जापानलाई हराउँदै सुपर–६ मा प्रवेश गरेको थियो। त्यसपछि सुपर–६ मा नेपालले युएई, कतार, ओमान र समोआलाई पराजित गर्दै लगातार पाँच खेलमा जित हात पारेको हो। १० अंकसहित नेपाल शीर्ष स्थानमा रहँदा दोस्रो ओमानले ८ अंक र तेस्रो युएईले ६ अंक जोडे। यी तीन टोली विश्वकपका लागि छनोट भएका हुन्।
शुक्रबार ओमान क्रिकेट एकेडेमीमा टस जितेर फिल्डिङ रोजेको समोआले नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउँदै २० ओभरमा ७ विकेट गुमाएर जम्मा ८७ रन मात्र बनाउन सक्यो।
नेपालका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। समोआका सिन सोलिया ४० रन बनाए पनि अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।
यसअघि ब्याटिङमा आएको नेपालले ४ विकेट गुमाउँदै २११ रनको विशाल योगफल तयार गरेको थियो। ओपनर आसिफ शेखले ४१ बलमा ७ चौका र १ छक्कासहित ६९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले ३३ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडे।
आरिफ शेख ९ रनमा आउट भए भने कप्तान रोहित पौडेलले १२ बलमा १ चौका र १ छक्कासहित नटआउट २१ रन बनाए।
अन्त्यतिर आक्रामक खेल्दै लोकेश बमले १२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ३९ रन जोडे।
असोज ३१, २०८२ शुक्रबार १९:३०:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।