दशैंपछि तातियो फिल्म बजार, सुटिङमा व्यस्त छन् कलाकार

काठमाडौं : दसैंको फूलपातीदेखि नै नेपाली फिल्म बजार तातिएको छ। फूलपातीको दिनदेखि ‘माइतीघर’, ‘बलिदान’ र ‘हरि बहादुरको जुत्ता’ प्रदर्शनमा आए। त्यस लगत्तै असोज ३१ गते शुक्रबारदेखि ‘जेरी अन टप’ प्रदर्शनमा आएको छ।
भाइटीकाको दिन (कात्तिक ६ गते) बाट ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ प्रदर्शनमा आउने तयारीमा छन् भने त्यसको भोलिपल्ट ‘मैझारो’ रिलिज हुने छ।
दसैं-तिहारको छेकोमा केवल फिल्म प्रदर्शनमा मात्र आएका होइनन्, सुटिङ पनि उत्तिकै तीव्र गतिमा भइरहेका छन्।
नेपाली फिल्महरू प्रायः गाउँकेन्द्रित हुने गरेका छन्। त्यसैले दृश्य पनि प्रायः गाउँ, भिर, पाखा र पखेरामै खिचिन्छन्। यस वर्ष पनि प्रदर्शनमा आएका अधिकांश फिल्महरू गाउँको परिवेशमा आधारित छन्।
दसैं-तिहारजस्तो पारिवारिक चाडमा पनि निर्देशक, निर्माता र कलाकारहरूलाई फुर्सद छैन। उनीहरू सुटिङमा व्यस्त छन्।
दसैं सकिएलगत्तै फिल्म ‘ककाकिकी’ को छायांकन पर्वतबाट सुरु भएको हो। गत बिहीबार शुभ मुहूर्त गरी पर्वतको भूकदेउराली क्षेत्रमा सुटिङ थालिएको थियो, जुन अहिले पनि जारी छ। ३५ दिनको सेड्युलमा निर्देशक बिक्की अग्रवाल र उनकी टिमले फिल्मको छायांकन गरिरहेका छन्। उनीहरूले २० दिनसम्म पर्वतमा सुटिङ गरेर बाँकी दृश्यका लागि काठमाडौँ फर्कने योजना बनाएका छन्।
फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, गौरी मल्ल, सुभास गजुरेल, महेश त्रिपाठी र सुवर्ण थापाको अभिनय रहेको छ।
स्वस्तिमाको नयाँ फिल्म ‘लालीबजार’
दुई दिनअघि अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ को छायांकन बर्दियाको राजापुरबाट सुरु भएको छ। शुभ साइत गरी थालिएको यो फिल्मको खिचाइ ३५ दिनसम्म चल्नेछ।
फिल्मको लेखन तथा निर्देशन यम थापाले गरेका छन् भने कार्यकारी निर्माता प्रदीप भट्टराई हुन्। म्याक्स दीपेश खत्री र रविन्द्र सिंह बानियाँले फिल्म निर्माण गरिरहेका छन्। फिल्मको कथा र अन्य कलाकारबारे भने निर्माण पक्षले हालसम्म जानकारी दिएको छैन।
‘कबड्डी ५’ पनि सुटिङमा
यता निर्देशक रामबाबु गुरुङले लेखन र निर्देशन गरिरहेको लोकप्रिय श्रृंखला ‘कबड्डी ५’ को सुटिङ पनि सुरु भएको छ। दुई दिनअघि मुस्ताङबाट सुटिङ थालिएको यो फिल्मको खिचाइ सेड्युल पनि ३५ दिनको छ।
फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन्। यसमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल र अरुणा कार्की मुख्य भूमिकामा छन्। साथै, यसपटक अभिनेता विपिन कार्की र मिस युके नेपाल २०१७ की विजेता सिर्जना गुरुङको पनि प्रवेश भएको छ।
‘डल्लेले इन्ट्री मार्यो’
मंगलबारदेखि काठमाडौंको गागलफेदीबाट फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को छायांकन सुरु भएको छ। ‘सक्किगोनी’ का कलाकार सागर लम्साल (बले) मुख्य भूमिकामा छन्। फिल्मलाई राजु गिरीले निर्देशन गरिरहेका छन् भने लेखन लक्ष्मण सुवेदीको हो।
फिल्ममा सागरका साथै रोशनी खड्का, रमेश बुढाथोकी, विनोद न्यौपाने, विशाल पहाडी, हेमन्त बुढाथोकी, ध्रुव कोइराला, आशा पौडेल र प्रिया रिजालको अभिनय रहनेछ।
उषा फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको सिनेमाटोग्राफी गौतमराज खड्काले र सम्पादन श्याम तामाङले गर्ने छन्।
‘कुमुदे हिँड्यो हिरो बन्न’को सुटिङ सकियो
केही दिनअघि ‘कुमुदे हिँड्यो हिरो बन्न’ को सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जनाएको छ। बुधबारदेखि फिल्मको सम्पादन कार्य थालिएको छ। गीतकार जानकी पन्तको निर्देशनमा बनेको यो उनको पहिलो डेब्यू निर्देशन हो।
फिल्ममा कुमुद पन्त मुख्य भूमिकामा छन् भने ऋचा थापा, रविना परियार, विष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकरराज पहाडी, पिताम्बर रिजाल, सचिन भुसाल, रविन बराइली, किरण मगर पुन, सरस्वती विक, प्रयुशदत्त सुवेदी र काव्यरस रिजाललगायत कलाकारको अभिनय छ।
फिल्मका निर्माता विष्णु पन्त शर्मा आचार्य हुन् भने सह-निर्मातामा चक्रबहादुर बराल रहेका छन्।
गत भदौ महिनामा मात्रै १८ वटा नेपाली चलचित्रले नेपाल चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका थिए।
असोज ३१, २०८२ शुक्रबार १९:४३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।