एक महिने उपलब्धि भन्दै गृहमन्त्रीले झूट बोले

एक महिने उपलब्धि भन्दै गृहमन्त्रीले झूट बोले

काठमाडौं : कारागारबाट भागेका पाँच हजार कैदीबन्दी फरार छन्। लुटिएका प्रहरीका हतियार फेला परेका छैनन्। जेनजी आन्दोलनको क्रममा जलेको गृह मन्त्रालयको खरानी पनि सफा भइसकेको छैन। तर गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा र सुव्यवस्थामा सुधार भएको दाबी गरेका छन्।

गृहमन्त्री भएको एक महिनाको ६ बुँदे उपलब्धि सार्वजनिक गर्दै पहिलो बुँदामा शान्ति सुरक्षा एवं सुव्यवस्था सामान्यीकरण र जनजीवन सामान्यीकरणको दाबी उल्लेख छ।

काठमाडौंमा जलेका सबै प्रहरी कार्यालय पुनःस्थापना भएका छैनन्। प्रहरी सडकमा उत्रिन सकेका छैनन्। सुरक्षा दिन सडकमा खटिने प्रहरी कुटिएका छन्। प्रहरी संगठनसँगको सम्बन्ध सहज बनिसकेको छैन।

तर गृहमन्त्री अर्यालले आन्दोलनकोक्रममा क्षति पुगेको भौतिक संरचना पुनःस्थापना भएको दाबी गरिरहेका छन्। तर उनी आफैँ अर्को मन्त्रालयको पुरानो भवनमा बसेका छन्।

आन्दोलनका मृतक र घाइतेको व्यवस्थापन र पुनःस्थापना, सेवा प्रवाहमा सुधार र सुशासन, विपद् पूर्व तयारी, राहत र पुनःस्थापनाको काम भएको उल्लेख गरेका छन्। दशैँमा आएको बाढी व्यवस्थापनमा सरकारले उल्लेखनीय काम गरेको थियो।

राजनीतिक दलहरूसँग सरकारले संवादसम्मको वातावरण बनाउन सकेको छैन। बल्ल बल्ल राष्ट्रपतिले दलका प्रतिनिधि बोलाएर एक पटक छलफल गराए। एमाले बाहेकका दल निर्वाचनप्रति सकारात्मक देखिएका छन्। उनीहरूले निरन्तर शान्ति सुरक्षाको अवस्थाबारे भने प्रश्न उठाइरहेका छन्। 

निर्वाचनको प्रारम्भिक वातावरण समेत बनेको छैन। तर गृहमन्त्री अर्यालले निर्वाचन वातावरण निर्माण र तयारीलाई एक महिनाको उपलब्धिको रूपमा सार्वजनिक गरेका छन्।

असोज ३१, २०८२ शुक्रबार १८:४४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।