टी-२० विश्वकप छनोटमा नेपालले सामोआलाई दियो २१२ रनको विशाल लक्ष्य

काठमाडौं : ओमानमा जारी आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रनको बलियो योगफल तयार गर्यो।
नेपालका दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनर आशिफ शेखले ४१ बलमा ६९ रन बनाउँदा, दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए। कुशल भुर्तेल १७ रनमा आउट भए भने आरिफ शेख ९ रनमा पेभेलियन फर्किए।
कप्तान रोहित पौडेलले १२ बलमा २१ रन जोडे भने अन्त्यमा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै १२ बलमा अविजित ३९ रन थपे।
यो खेलमा नेपालले जित निकाल्न सके भने यस संस्करणको छनोट प्रतियोगिताको उपाधि आफ्नो नाममा गर्नेछ। यसअघि नै नेपालसहित ओमान र युएईले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि आफ्नो स्थान पक्का गरिसकेका छन्।
असोज ३१, २०८२ शुक्रबार १७:५७:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।