शाओमीले नेपालमा ल्यायो लाइका क्यामरासहितको नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘शाओमी १५टी’

काठमाडौं : विश्वव्यापी प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।
यो स्मार्टफोनलाई शाओमीले प्रख्यात क्यामरा ब्रान्ड लाइकासँगको सहकार्यमा विकास गरेको हो, जसले मोबाइल फोटोग्राफीलाई व्यावसायिक स्तरमा पुर्याउने लक्ष्य लिएको छ।
सार्वजनिक कार्यक्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन हो। लाइकासँगको सहकार्यले हामीले प्रयोगकर्तालाई व्यावसायिक स्तरको तस्बिर गुणस्तर भएको क्यामरा प्रणाली उपलब्ध गराएका छौं। एआई प्रविधि र उच्च प्रदर्शन क्षमताको संयोजनले यो स्मार्टफोनले नेपाली उपभोक्ताका लागि मोबाइल फोटोग्राफी र प्रयोग अनुभवमा नयाँ स्तर ल्याउनेछ।’
शाओमी १५टीमा लाइकासँग मिलेर तयार पारिएको ट्रिपल क्यामरा प्रणाली रहेको छ, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामरा, २ गुणा अप्टिकल जुमसहितको ५० मेगापिक्सेल टेलिफोटो क्यामरा र १२ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा समावेश छन्। ठूलो अपर्चर भएको लाइका समिलक्स लेन्सका कारण अँध्यारोमा समेत स्पष्ट र रंगीन तस्बिर खिच्न सकिन्छ।
फोनको डिजाइन पातलो र आकर्षक छ। मुलायम किनार र म्याट फिनिशसहितको यो फोन केवल ७.५ मिलिमिटर पातलो र १९४ ग्राम तौलको छ, जसले लामो समयसम्म प्रयोग गर्दा पनि सहज अनुभव दिन्छ। यो मोडल आईपी६८ प्रमाणित भएकाले पानी र धुलोबाट सुरक्षित रहन्छ, साथै कोर्निङ गोरिल्ला ग्लास ७आईले स्क्र्याच र झट्काबाट सुरक्षा प्रदान गर्छ।
शाओमी १५टीमा मेडियाटेक डाइमेन्सिटी ८४००-अल्ट्रा (४ न्यानोमिटर) चिपसेट प्रयोग गरिएको छ, जसलाई १२ जीबी एलपीडीडीआर५एक्स र्याम र ५१२ जीबी युएफएस ४.१ स्टोरेजले साथ दिएको छ। यो फोन एन्ड्रोइड १५मा आधारित हाइपरओएस २मा चल्छ, र कम्पनीका अनुसार छिट्टै हाइपरओएस ३ पनि उपलब्ध हुनेछ।
फोनमा ६.८३ इन्चको एएमोलेड डिस्प्ले, १.५के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट दिइएको छ, जसले दृश्य अनुभवलाई अझ जीवन्त बनाउँछ। फ्रन्टतर्फको ३२ मेगापिक्सेल क्यामराले उच्च गुणस्तरका सेल्फी र भिडियो कलका लागि उत्कृष्ट परिणाम दिन्छ।
शाओमी १५टीमा ५५०० mAh ब्याट्री र ६७ वाटको हाइपरचार्ज फास्ट चार्जिङ सुविधा छ, जसमा चार्जर पनि समावेश गरिएको छ। साथै, यसमा डुअल सिम, वाइफाइ ६E, ब्लुटुथ ६.०, मल्टिफङ्शनल एनएफसी, ५जी समर्थन, र जीपीएस, ग्लोनास, ग्यालिलियो, बेइडो, क्युझेडएसएस र नाभिक जस्ता मल्टिब्यान्ड पोजिसनिङ प्रणाली पनि छन्।
नेपालमा शाओमी १५टीको १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको मोडेलको मूल्य रु. ६४,९९९ निर्धारण गरिएको छ। यो फोन ब्ल्याक, ग्रे र रोज गोल्ड तीनवटा रंगमा देशभरका शाओमीका अधिकृत स्टोरहरूमा उपलब्ध छ।
शाओमीले यो मोडलमार्फत नेपाली बजारमा फोटोग्राफी, प्रदर्शन र डिजाइन तीनै क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरेको छ।
असोज ३१, २०८२ शुक्रबार १५:४३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।