नेपालको राजनीतिक परिस्थितिबारे विश्व समुदायमा सकारात्मक सन्देश पुर्‍याउन कूटनीतिक निकायसँग प्रधानमन्त्रीको अनुरोध

नेपालको राजनीतिक परिस्थितिबारे विश्व समुदायमा सकारात्मक सन्देश पुर्‍याउन कूटनीतिक निकायसँग प्रधानमन्त्रीको अनुरोध

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गर्दै नेपालमा हुने आगामी निर्वाचन, हालको राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे विस्तृत जानकारी गराएकी छिन्।

परराष्ट्र मन्त्रालयको हलमा शुक्रबार आयोजित बैठकमा नेपालस्थित सबै विदेशी दूतावास र अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू सहभागी थिए। प्रधानमन्त्री कार्कीले यो बैठक आफू प्रधानमन्त्री बनेपछि पहिलो पटक औपचारिक रूपमा बोलाएकी हुन्।

बैठकको प्रारम्भमा प्रधानमन्त्री कार्कीले हाल काठमाडौँको मौसम र स्वच्छ आकाशको प्रसङ्ग उल्लेख गर्दै सहभागीहरूप्रति स्वागत व्यक्त गरेकी थिइन्। उनले भनिन्, ‘हामी अहिले नेपालको इतिहासमै गम्भीर राजनीतिक परिवर्तनको मोडमा छौँ - यो परिवर्तन ‘जेनजी आन्दोलन’पछि आएको हो, जसले सरकारप्रतिको जनविश्वास र जवाफदेहिताको मागलाई उच्च स्तरमा पुर्याएको छ।’

प्रधानमन्त्री कार्कीले आफ्नो सरकारले जेनजी आन्दोलनबाट उठेका मागका आधारमा बनेको अन्तरिम सरकार भएको बताउँदै भनिन्, “हाम्रो सरकार कुनै राजनीतिक एजेन्डा बोकेर आएको होइन। हामीले एकमात्र म्यान्डेट पाएका छौँ - आउँदो मार्च ५, २०२६ (फागुन २१, २०८२) मा स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचन सम्पन्न गर्ने।”

प्रधानमन्त्रीले हालसम्मको प्रगतिबारे जानकारी दिँदै भनिन्, ‘अन्तरिम सरकार बनेको एक महिनाभित्रै हामीले शासन प्रणालीमा रहेका चुनौती मात्र होइन, सुधारको विशाल सम्भावना पनि देखेका छौँ। यसलाई अवसरको रूपमा प्रयोग गर्दै संस्थागत पारदर्शिता, जवाफदेहिता र सेवा सुधारमा लागिरहेका छौँ।’ 

उनले हालै गठन गरिएको न्यायिक छानबिन आयोगले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाका कारण र जिम्मेवारीको पहिचान गर्ने बताइन्। साथै, ठूला भ्रष्टाचारका आरोपमाथि स्वतन्त्र र निष्पक्ष अनुसन्धान थालिएको उल्लेख गरिन्।

आर्थिक पक्षका सन्दर्भमा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा नष्ट भएका पूर्वाधार पुनर्निर्माणका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरिएको बताइन्। साथै, भर्खरैका बाढी–पहिरो र जलवायु परिवर्तनका असरले थप चुनौती बढाएको बताउँदै विकास साझेदारहरूसँग सहयोगको अपेक्षा व्यक्त गरिन्।

उनले विदेशमा रहेका नेपाली कामदारहरूको हित र श्रम कूटनीति सुदृढ पार्न निरन्तर संवाद भइरहेको जानकारी दिइन्।

बैठकको अन्त्यमा प्रधानमन्त्री कार्कीले सहभागी सबै दूत तथा कूटनीतिक प्रतिनिधिहरूलाई नेपालको बदलिँदो राजनीतिक परिस्थितिबारे सकारात्मक सन्देश विश्व समुदायमा पुर्याउन अनुरोध गरिन्।

असोज ३१, २०८२ शुक्रबार १५:०२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।