प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ : गृहमन्त्री अर्याल

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई प्रविधि र समयको मागअनुसार आधुनिक र परिस्कृत बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याएका छन्।
७०औँ प्रहरी दिवस तथा अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै गृहमन्त्री अर्यालले प्रविधिको तीव्र विकाससँगै अपराधका स्वरूप र अनुसन्धानका चुनौती पनि बढेका कारण प्रहरी संगठनलाई समयानुकूल सुदृढ र सक्षम बनाइनुपर्ने बताए।
उनले भने, ‘नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई देशको आन्तरिक सुरक्षालाई थप मजबुत बनाउनु गृह मन्त्रालयको प्रमुख जिम्मेवारी हो, त्यसअनुसार सरकार काम गरिरहेको छ।’
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पनि स्रोतसाधनको अभाव हुन नदिन सरकारले आवश्यक तयारी गरिरहेको उनले स्पष्ट पारे।
भदौ २३ र २४ गतेका ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीका सामग्रीमा तोडफोड र आगजनी भएको स्मरण गर्दै उनले भने, ‘त्यो आन्दोलनले प्रहरीलाई ठूलो भौतिक क्षति पुर्यायो। न्यून साधनस्रोतमा काम गर्दै आएको प्रहरी अहिले पनि त्यसबाट सम्हालिँदै अगाडि बढिरहेको छ।’ उनले निष्पक्ष अनुसन्धान र पीडितलाई न्याय दिन उच्च मनोबलका साथ प्रहरी लाग्नुपर्नेमा जोड दिए।
गृहमन्त्री अर्यालले पछिल्ला केही धार्मिक तथा साम्प्रदायिक घटनाहरूले समाजको आपसी सद्भाव र सहिष्णुतामा चोट पुर्याउने प्रयास भएको भन्दै यस्तो प्रवृत्ति रोक्न समयमै कदम चाल्नुपर्ने बताए।
कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले हालको सुरक्षा चुनौती र आगामी सम्भावित परिस्थिति सामना गर्न नेपाल प्रहरी तयार रहेको बताए।
‘नेपाल प्रहरीबिनाको समाजको कल्पना गर्न सकिँदैन,’ उनले भने, ‘हामी आमनागरिकको शान्ति, सुरक्षा र भरोसाको केन्द्र बन्न प्रतिबद्ध छौँ।’
उनका अनुसार हाल देशभर नयाँ ९३९ स्थानमा प्रहरी इकाइको माग छ भने ४०० भन्दा बढी इकाइमा स्तरोन्नतिको आवश्यकता देखिएको छ। ‘यसका लागि आगामी दिनमा थप २५ हजार जनशक्ति आवश्यक पर्नेछ,’ खापुङले बताए। उनले प्रहरीभित्र आन्तरिक शुद्धीकरण र सुधार पनि प्राथमिकतामा रहेको उल्लेख गरे।
प्रहरी दिवसका अवसरमा अवकाशप्राप्त डिआईजी कृष्णबहादुर रानालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, डिएसपी धर्मराज भण्डारीलाई ‘मोतीलाल कला उत्कृष्ट अनुसन्धान अधिकारी पुरस्कार’ र डिएसपी भोलाकुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिएको थियो।
कर्तव्य पालनका क्रममा वीरगति प्राप्त गरेका छ प्रहरीका आश्रित परिवारलाई जनही रु एक लाख ५० हजारका दरले सहयोग रकम हस्तान्तरण गरिएको थियो। सो अवसरमा सहीद स्मारकमा पुप्पगुच्छा अर्पण र ‘प्रहरी दर्पण-२०८२’ विमोचन पनि गरिएको थियो।
प्रहरी ऐन, २०१२ अनुसार स्थापना भएको नेपाल प्रहरीले आजबाट आफ्नो स्थापनाको सात दशक पूरा गरेको हो। सुरुमा ७,७१५ जनशक्ति रहेको नेपाल प्रहरीमा हाल ७९ हजार ५४१ जनशक्ति कार्यरत छन्।
असोज ३१, २०८२ शुक्रबार १४:२५:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।