महिला क्रिकेट विश्वकपमा दर्शकको संख्याले रेकर्ड तोड्यो, भारत-पाकिस्तान खेलले रच्यो इतिहास

महिला क्रिकेट विश्वकपमा दर्शकको संख्याले रेकर्ड तोड्यो, भारत-पाकिस्तान खेलले रच्यो इतिहास

काठमाडौं : आईसीसी महिला क्रिकेट विश्वकप २०२५ को १३औं संस्करणले मैदानमा मात्र नभई दर्शक संख्यामा पनि नयाँ कीर्तिमान कायम गरेको छ। आईसीसी र जियोहटस्टारद्वारा संयुक्त रूपमा जारी तथ्याङ्कले महिला क्रिकेटप्रतिको उत्साहजनक वृद्धि देखाएको हो।

प्रतियोगिताको पहिलो १३ खेलमा दर्शकको पहुँच ६ करोडभन्दा बढी पुगेको छ, जुन २०२२ को संस्करणभन्दा पाँच गुणा बढी हो। त्यसैगरी, खेल हेरिएको कुल समय ७ अर्ब मिनेट नाघेको छ, जुन अघिल्लो प्रतियोगिताको तुलनामा १२ गुणाले बढी हो।

विशेषगरी, अक्टोबर ५ मा कोलम्बोमा भएको भारत र पाकिस्तानबीचको खेलले सबै कीर्तिमान तोड्दै महिला अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक हेरिएको खेल बनेको छ। उक्त खेललाई २ करोड ८४ लाख दर्शकले हेरेका थिए भने कुल १.८७ अर्ब मिनेट बराबरको हेराइ अवधि दर्ता भयो।

यस्तै, अक्टोबर १२ मा विशाखापटनममा भएको भारत र अष्ट्रेलियाबीचको प्रतिस्पर्धाले पनि नयाँ उचाइ छोएको छ। जियोहटस्टारमा एकैसाथ ४८ लाख दर्शकले हेरेर यो खेलले महिला क्रिकेटमा अर्को कीर्तिमान बनायो।

टेलिभिजनतर्फ पनि दर्शकको संख्या उल्लेख्य रूपमा बढेको छ। भारतले श्रीलंका, पाकिस्तान र दक्षिण अफ्रिकाविरुद्ध खेलेका खेलसहित पहिलो ११ खेलमा कुल ७ करोड २० लाख दर्शक पुगेका छन्, जुन अघिल्लो संस्करणभन्दा १६६ प्रतिशतले बढी हो। हेरिएको कुल समय पनि ३२७ प्रतिशतले बढेर ६.३ अर्ब मिनेट पुगेको छ।

प्रतियोगिता अब आफ्नो निर्णायक चरणमा पुगेको छ र भारतका लागि हरेक खेल महत्वपूर्ण बनेको छ। यस्तो अवस्थामा महिला क्रिकेटको लोकप्रियता र दर्शक संख्याले थप नयाँ कीर्तिमान बनाउने अपेक्षा गरिएको छ।

असोज ३१, २०८२ शुक्रबार १३:५४:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।