तिहारमा माटोले घर लिपेर संस्कृति जोगाउन गाउँपालिकाको आह्वान

काभ्रेपलाञ्चोक : आधुनिक रङको प्रयोगले मौलिकता हराउँदै गएको भन्दै काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले आसन्न तिहारमा परम्परागत रूपमा माटोले घर लिपपोत गर्न स्थानीयलाई आह्वान गरेको छ।
गाउँपालिकाले सार्वजनिक अपिल जारी गर्दै आधुनिकतासँगै गाउँघरमा माटोले लिप्ने चलन घट्दा मौलिकता, सौन्दर्य र सांस्कृतिक पहिचान कमजोर बनेको उल्लेख गरेको छ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार, परम्परागत संस्कृतिलाई पुनर्जीवित गर्ने उद्देश्यले गत असारमा सम्पन्न गाउँसभाबाटै तिहारमा कमेरो (सेतो माटो) र रातो माटोले घर लिपपोत गर्ने अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो।
‘दीपावलीमा घरआँगन माटोले लिप्ने चलन धार्मिक र सौन्दर्यका लागि मात्र नभई सामाजिक एकता र परम्पराको संरक्षणमा समेत महत्त्वपूर्ण छ’, अध्यक्ष थिङले भने।
उनले पुर्खाले सदियौँदेखि जोगाउँदै आएको यो परम्परालाई यस वर्षदेखि अभियानकै रूपमा अगाडि बढाउन लागिएको जानकारी दिए।
यो अभियानले गाउँका घरहरूमा एकरूपता ल्याई शृङ्गारिक देखिनुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गाउँपालिकाले लिएको छ।
अभियान सफल पार्न गाउँपालिकाले सम्पूर्ण नागरिक, टोल समिति तथा विद्यार्थीहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।
असोज ३१, २०८२ शुक्रबार १३:२५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।